जन आकाश
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले खत्रीलाई उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरेका हुन्।
अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले गुण्डागर्दी, अपहरण, हत्या लगायतका गम्भीर तथा जघन्य अपराधको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अपराध अनुसन्धानमा दक्ष र प्रभावकारी प्रहरी अधिकृतका रूपमा परिचित खत्रीले नेतृत्व गरेको टोलीले पछिल्लो समय विभिन्न आपराधिक घटनाको अनुसन्धानमा सफलता हासिल गरेको कार्यालयले जनाएको छ।
पछिल्लो समय खत्रीको टोलीले कलंकीबाट एक युवकलाई अपहरण गरी नागार्जुन पुर्याएर बन्धक बनाएको घटनाको सफल अनुसन्धान गरेको थियो। अपहरणमा परेका युवकलाई बन्धक बनाएर प्लास्टिकको पाइपले कुटपिट तथा यातना दिइएको र परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाउँदै अपहरणमा परेका युवकको सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको थियो। उक्त घटनाको अनुसन्धानमा खत्री नेतृत्वको टोलीले महत्वपूर्ण भूमिका खेलेको थियो।
उक्त अपहरण प्रकरण अर्को कारणले पनि चर्चामा आएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको इतिहासमै पहिलोपटक उक्त कार्यालयले अनुसन्धानसँगै मुद्दा चलाउने प्रक्रिया अघि बढाएको बताइएको छ। यसअघि कार्यालयले मुख्यतः अपराध अनुसन्धान तथा अभियुक्त पक्राउ गर्ने कार्य गर्दै आए पनि मुद्दा अभियोजनको प्रक्रिया सम्बन्धित अन्य प्रहरी कार्यालयमार्फत अघि बढ्ने गरेको थियो।
अपराध अनुसन्धानमा परिणाममुखी काम गरेको, जटिल प्रकृतिका घटनाको अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाएको तथा टोली परिचालनमा समेत उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको कार्यालयले जनाएको छ।
अवार्ड प्राप्त गरेपछि खत्रीले आगामी दिनमा पनि अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै नागरिकको सुरक्षा र न्यायका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रहरी संगठनभित्र उत्कृष्ट प्रहरी छनोट तथा सम्मानलाई कार्यसम्पादनमा थप प्रोत्साहन दिने माध्यमका रूपमा लिइन्छ। खत्रीको सम्मानले अपराध अनुसन्धानमा सक्रिय प्रहरी अधिकृत तथा टोलीलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend