logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा स्थापना हुँदै


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा प्रतिमा स्थापना गर्न लागिएको हो।



नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत आगामी २९ अगस्ट २०२६, शनिबार बिहान ११ बजे नेपाली दूतावास, १२ए केन्सिङ्टन प्यालेस गार्डेन्स, लन्डनमा विशेष समारोह आयोजना गरिनेछ।

एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाका अनुसार सुनौलो रङको आसनस्थ बुद्ध प्रतिमा नेपाली दूतावास परिसरमा स्थापना गरिनेछ। उनका अनुसार प्रतिमाले नेपाल, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी तथा शान्ति, करुणा, सद्भाव र अहिंसाको विश्वव्यापी सन्देशलाई प्रतिनिधित्व गर्नेछ।

समारोहमा सहभागी हुन बेलायतस्थित एनआरएनएका अभियन्ता तथा सदस्य, बौद्ध गुरु, नेपाली समुदायका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिलाई नेपाली दूतावासले आमन्त्रण गरेको छ।

सापकोटाका अनुसार ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत यस वर्ष विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगमा कुल ११ वटा बुद्ध प्रतिमा स्थापना गर्ने योजना रहेको छ। त्यसका लागि विभिन्न स्थान छनोट तथा आवश्यक समन्वयको प्रक्रिया अघि बढिरहेको छ। यस वर्षको योजनापछि पनि उपयुक्त नेपाली कूटनीतिक नियोग तथा अन्य स्थानमा बुद्ध प्रतिमा स्थापना गर्ने अभियानलाई निरन्तरता दिइनेछ।

एनआरएनएले स्थापनाकालदेखि नै नेपाल, नेपाली संस्कृति, पर्यटन, कला, भाषा तथा मौलिक सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको छ। ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ पनि सोही निरन्तर प्रयासको महत्वपूर्ण कडी भएको सापकोटाले बताए।

विश्वभर फैलिएको नेपाली डायस्पोराको सञ्जाललाई नेपालको सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले यस्ता अभियान सञ्चालन भइरहेको उनको भनाइ छ।

लन्डनलाई बुद्ध प्रतिमा स्थापनाका लागि छनोट गर्नुको प्रमुख कारण नेपाल र बेलायतबीचको लामो ऐतिहासिक कूटनीतिक सम्बन्ध रहेको सापकोटाले बताए। नेपाल र बेलायतबीच सन् १८१६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। बेलायत नेपालको सबैभन्दा पुराना कूटनीतिक साझेदारमध्ये एक हो।

अभियानअन्तर्गत पोर्चुगलको लिस्बनस्थित नयाँ नेपाली दूतावासमा समेत बुद्ध प्रतिमा स्थापना गर्ने योजना रहेको छ। नेपाली कूटनीतिक नियोगमार्फत नेपाल, लुम्बिनी तथा भगवान् बुद्धको शान्ति र करुणाको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा थप विस्तार गर्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी अस्ट्रेलियाको भिक्टोरियामा रहेको The Great Stupa of Universal Compassion परिसरमा समेत बुद्ध प्रतिमा स्थापना गर्ने योजना अघि बढाइएको छ। एनआरएनए एनसीसी अस्ट्रेलियाको सहयोग तथा अस्ट्रेलिया सरकारसँगको समन्वयमा स्थापना गर्ने तयारी भइरहेको उक्त प्रतिमा करिब ६.२ फिट अग्लो र १६० केजी तौलको हुनेछ।

प्रतिमा भिक्टोरियास्थित उक्त बौद्ध सम्पदा परिसरमा स्थापना गर्ने योजना रहेको छ। यस पहलले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको बौद्ध सम्पदा र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रवक्ता सापकोटाका अनुसार अभियान केवल बुद्ध प्रतिमा स्थापना गर्ने सांस्कृतिक कार्यक्रम मात्र नभई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र नेपालको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने महत्वपूर्ण पहल हो।

यस अभियानले भगवान् बुद्धको जन्मभूमि नेपाल र लुम्बिनीलाई शान्ति, आध्यात्मिकता, संस्कृति तथा पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा थप परिचित गराउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सापकोटाले विश्वभर फैलिएको नेपाली डायस्पोराले नेपालको सांस्कृतिक तथा आध्यात्मिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै जहाँ बसे पनि नेपालीहरूले नेपालको ‘सांस्कृतिक राजदूत’का रूपमा काम गर्नुपर्नेमा जोड दिए।

अभियान सफल बनाउन नेपाल पर्यटन बोर्ड, बुद्ध सर्किटअन्तर्गतका नगरपालिका, नेपाल सरकारको परराष्ट्र मन्त्रालय, एनआरएनए एनसीसी युके, बुद्ध फाउन्डेसन युके, एनआरएनए एनसीसी अस्ट्रेलियालगायत विभिन्न सरोकारवाला संस्था तथा व्यक्तिहरूको सहयोग, सहकार्य र समन्वय रहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend