जन आकाश
काठमाडौं । भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले नेपाल र भारतका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा ल्याएर विश्वव्यापी संवाद शृंखला सुरु गर्ने भएको छ। ‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ नामक संवाद शृंखलाको पहिलो कार्यक्रम आगामी २७ अगस्ट (११ भदौ) मा काठमाडौंमा आयोजना हुँदैछ।
काठमाडौंको याक एन्ड यति होटलमा बिहान ९ बजेदेखि हुने कार्यक्रममा नेपालका राजनीति, अर्थतन्त्र, व्यवसाय, कला तथा खेलकुद क्षेत्रका व्यक्तित्वसँगै भारतका राजनीतिक तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।
कार्यक्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदास सहभागी हुने प्रचार सामग्रीमा उल्लेख छ।
त्यस्तै, अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइराला पनि संवादमा सहभागी हुनेछन्।व्यापार तथा उद्योग क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिजका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष एवं सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल सहभागी हुने बताइएको छ।
खेल क्षेत्रबाट पूर्वक्रिकेटर तथा नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले नेपाली खेल क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्नेछन्।
भारतका तर्फबाट इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भाजपाका राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे, भाजपाको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, पूर्वकेन्द्रीय मन्त्री तथा कांग्रेस नेता डा. शशि थरुर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत सहभागी हुने जनाइएको छ।
संवादमा नेपालको बदलिँदो राजनीति, अर्थतन्त्र र समाजका साथै भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकाबारे छलफल हुनेछ।
नेपालको आर्थिक विकासका योजना, व्यवसाय सञ्चालनका अवसर, लोकतान्त्रिक व्यवस्थामा आएका परिवर्तन तथा युवाका अपेक्षाका विषयमा पनि संवाद केन्द्रित हुनेछ।
त्यसैगरी प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण, व्यापार र क्षेत्रीय सहकार्यजस्ता विषयलाई समेत छलफलमा समेटिनेछ। बदलिँदो विश्वमा नेपालले आफूलाई कसरी अघि बढाउन खोजिरहेको छ तथा उसका प्राथमिकता र चुनौती के–के छन् भन्ने विषयमा पनि कार्यक्रममा विचारविमर्श हुने बताइएको छ।
एनडीटीभीका अनुसार ‘अन्वीक्षा’ भारत–नेपाल सम्बन्धमा हुने परम्परागत छलफलमा मात्र सीमित रहने छैन। नेपालको आफ्नै आवाज, सोच, सपना र भविष्यका योजनालाई केन्द्रमा राखेर नेपाललाई बुझ्ने प्रयास यस संवादमार्फत गरिनेछ।
एनडीटीभीका अनुसार ‘अन्वीक्षा’ नाम प्राचीन भारतीय परम्पराको ‘आन्वीक्षिकी’ शब्दबाट लिइएको हो। यसको अर्थ तर्क, सोचविचार र परीक्षणका माध्यमबाट कुनै विषयलाई बुझ्नु हो।
यस पहलको उद्देश्य परिचित विषय र कथालाई समेत नयाँ दृष्टिकोणबाट हेर्नु रहेको एनडीटीभीले जनाएको छ। प्रत्येक कार्यक्रममा सम्बन्धित देशको इतिहास, पहिचान, नागरिकको वास्तविक जीवन र उनीहरूका महत्वाकांक्षालाई बुझ्ने प्रयास गरिनेछ। साथै ती विषयलाई विश्व राजनीति र अर्थतन्त्रका ठूला प्रश्नसँग जोडेर हेरिने बताइएको छ।
एनडीटीभीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधान सम्पादक राहुल कंवलले देशहरूबीच राम्रो संवाद त्यतिबेला सुरु हुन सक्ने बताएका छन्, जब मानिसहरू पूर्वधारणाभन्दा माथि उठेर कुनै देशले आफूलाई कसरी हेर्छ भन्ने कुरा सुन्न तयार हुन्छन्।
उनका अनुसार यो यात्राको सुरुवातका लागि नेपाल स्वाभाविक र महत्वपूर्ण गन्तव्य हो।
त्यस्तै, एनडीटीभी वर्ल्डका सम्पादक नवीन कपुरले ‘अन्वीक्षा’ले भारतलाई विश्वसँग जोड्ने प्रयासलाई थप अघि बढाउने बताएका छन्। उनका अनुसार विभिन्न देशलाई उनीहरूकै दृष्टिकोण, प्राथमिकता र अपेक्षाका आधारमा बुझ्ने प्रयास यो शृंखलामार्फत गरिनेछ।
काठमाडौंमा आयोजना हुने भारत–नेपाल संवाद ‘अन्वीक्षा’को ठूलो अन्तर्राष्ट्रिय योजनाको पहिलो कदम हुने एनडीटीभीले जनाएको छ। शृंखला आगामी दिनमा विश्वका विभिन्न देश र महादेशसम्म विस्तार गरिनेछ।
त्यस क्रममा विभिन्न देशको पहिचान, उनीहरूका महत्वाकांक्षा तथा भविष्यलाई प्रभावित गर्ने विषयमा संवाद गरिनेछ।
एनडीटीभीका अनुसार काठमाडौंमा हुने कार्यक्रम भारत–नेपाल सम्बन्धमा मात्र सीमित हुनेछैन। क्षेत्रीय तथा विश्व राजनीतिमा नेपालको स्थान, बदलिँदो विश्वमा नेपालको भूमिका तथा नेपाली समाजका आगामी सपना र महत्वाकांक्षाबारे पनि संवादमा महत्वपूर्ण प्रश्न उठाइनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend