जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै आफ्ना मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा सम्झौताको प्रति आदानप्रदान गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मुख्य कार्य तथा अपेक्षित उपलब्धिलाई प्राथमिकतामा राखिएको छ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
त्यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्। यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद्को बैठकमा सहभागी हुनुपर्ने भएकाले सम्झौता कार्यक्रममा उपस्थित भएनन्।
यसैबीच, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
कार्यसम्पादन सम्झौतामार्फत सरकारले चालु आर्थिक वर्षका प्राथमिकता, जिम्मेवारी र लक्ष्यलाई स्पष्ट गर्दै मन्त्रालयगत कामलाई परिणाममुखी बनाउने उद्देश्य राखेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend