जन आकाश
काठमाडौं । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रकाशित समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्ने देखिएको भन्दै श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न आदेश दिएको हो।
अदालतले श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिन तीनवटा आधार प्रस्तुत गरेको छ। पहिलो, पत्रिकामा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिलमा उजुरी परी कारबाहीको प्रक्रियामा रहेको अवस्थामा अन्य निकायबाट धरपकड गर्न नहुने अदालतको ठहर छ।
दोस्रो, नेपालको संविधानको धारा १७ ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ मा उल्लेखित सञ्चारको हकलाई समेत अदालतले आधार बनाएको छ।
त्यस्तै, सर्वोच्च अदालतले दुई दिनअघि जारी गरेको आदेशलाई समेत आधार मान्दै श्रेष्ठलाई धरपकड, पक्राउ वा थुनामा राख्नेलगायतका कार्य नगर्न अदालतले आदेश दिएको छ।
गत साता जनआस्था साप्ताहिकमा आफ्नो निजी विषयवस्तु प्रकाशित भएको र त्यसबाट गोपनीयताको हक हनन भएको दाबी गर्दै उपसभामुख रुवीकुमारीले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन्। त्यसपछि उनले प्रहरीमा समेत जाहेरी दिएकी थिइन्।
प्रहरीले जिल्ला अदालत ललितपुरबाट श्रेष्ठविरुद्ध पक्राउ अनुमति लिन प्रयास गरिरहेको जानकारी पाएपछि उनी निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए।
यसअघि निषेधाज्ञाको निवेदनमाथि सुनुवाइ हुनुअघि नै जिल्ला अदालत ललितपुरले आवश्यक प्रक्रिया नपुगेको भन्दै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको थियो।
राज्यका कुनै निकायबाट आफूविरुद्ध गैरकानुनी रूपमा धरपकड वा पक्राउको प्रयास हुन लागेको दाबी गर्दै त्यसलाई रोक्न अदालतमा दिइने निवेदनलाई निषेधाज्ञाको निवेदन भनिन्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend