जन आकाश
काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयले गरेको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ की बालिका चौधरीको हत्याको विरोधमा स्थानीयले बाराको सिमरामा प्रदर्शन गर्दै बुधबार दिउँसोदेखि सडक अवरुद्ध पारेका हुन्।
घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने तथा सिमरा प्रहरीको नेतृत्व परिवर्तन गर्नुपर्नेलगायतका माग प्रदर्शनकारीले अघि सारेका छन्।
बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइए पनि खोजीमा प्रहरीले पर्याप्त चासो नदिएको स्थानीयको आरोप छ। परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समेत समयमै अनुसन्धान नगरिएको र प्रहरीको खोजी तथा समन्वय प्रभावकारी नभएका कारण बालिकाको ज्यान गएको भन्दै उनीहरूले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी गर्न नसकेको आरोप छ। अन्ततः मंगलबार साँझ स्थानीयले बालिकाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ। तर, परिवारले शव भेटिनुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको स्थानीयको दाबी छ।
सडक खुलाउने विषयमा बुधबार प्रशासन र आन्दोलनरत पक्षबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेन। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बुधबार राति ११ बजेसम्म छलफल भए पनि आन्दोलनरत पक्षले डीएसपी क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राखेपछि सहमति हुन नसकेको हो।
‘बुधबार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनरत पक्षले डीएसपी साबलाई निलम्बन गर्नुपर्ने माग राख्नुभयो, जुन हाम्रो तहबाट सम्बोधन हुनसक्ने विषय होइन,’ भट्टराईले भने।
बालिकाको हत्यापछि स्थानीयमा आक्रोश बढेको छ। दोषीमाथि कडा कारबाहीसँगै घटनाको अनुसन्धानमा प्रहरीको भूमिका छानबिन गर्नुपर्ने र लापरबाही भएको भए सम्बन्धित प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्।
प्रदर्शनका कारण वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गतको महत्वपूर्ण सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सडक खुलाउने विषयमा प्रशासन र आन्दोलनरत पक्षबीच पुनः वार्ता गर्ने तयारी भइरहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend