जन आकाश
काठमाडौं । सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको जानकारी दिए।
उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत ग्यासको वितरणलाई सहज बनाउन आवश्यक पहल भइरहेको छ। केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका कारण कतिपय स्थानमा अभाव देखिएको उनले बताए।
सरकार ग्यास आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन गम्भीरतापूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले केही समयभित्रै समस्या पूर्ण रूपमा समाधान हुने दाबी गरे।
‘बजारमा ग्यासको आपूर्ति सहज हुँदै गइरहेको छ। केही समयभित्रै यो समस्या पूर्ण रूपमा समाधान भई आपूर्ति व्यवस्था सुचारु हुनेछ,’ उनले भने। सरकारले बजारमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend