जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आफूले उठाएको प्रश्नमा आपत्ति भए अदालत गएर मुद्दा हाल्न चुनौती दिएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले यसअघि आईजीपी कार्कीविरुद्ध आफूले उठाएको प्रश्नमा आफू अझै अडिग रहेको बताए। उनले प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको विषयमा छानबिन हुनुपर्ने आफ्नो धारणा दोहोर्याए।
यसअघि समितिको बैठकमा आईजीपी कार्कीविरुद्ध उजुरी परेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने धारणा सुनारले राखेका थिए। उक्त अभिव्यक्तिको आलोचना भएपछि आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्याललाई समेत भेटेका थिए।
बिहीबारको बैठकमा सांसद सुनारले प्रहरीको खरिद प्रक्रियासम्बन्धी विषय पुनः उठाउँदै समितिले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी कागजात मागेको स्मरण गराए।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ उनले भने।
सांसद सुनारले प्रहरी मुख्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोपसमेत लगाए। ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने।
आफूले कसैको मानमर्दन गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैलाई मानमर्दन भएको महसुस भए अदालत जान चुनौती दिए।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु,’ उनले भने।
सांसद सुनारले संसदीय समितिमा उपस्थित भएर सांसदसँग जुहारी खेल्न नहुनेसमेत बताए। सार्वभौम संसदीय समितिमा आएर मर्यादा कायम गर्नुपर्ने उनको भनाइ थियो।
‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend