logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

उपत्यकाका सार्वजनिक सवारीको लोकेसन र आगमन समय थाहा पाउन ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधन कुन स्थानमा छन् र आफूले पर्खिरहेको ठाउँमा पुग्न कति समय लाग्छ भन्ने जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।



संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकका क्रममा बुधबार परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन्।

प्राधिकरणका अनुसार एपमा जीपीएस जडान भएका करिब १ हजार २०० सार्वजनिक सवारी साधनको विवरण हेर्न सकिनेछ। आगामी दिनमा जीपीएस जडान भएका थप सवारीलाई प्रणालीमा जोड्दै लैजाने योजना रहेको छ।

एपमार्फत सार्वजनिक सवारीको अवस्थिति, यात्रुले पर्खिरहेको स्थानसम्म पुग्न लाग्ने अनुमानित समयलगायत सार्वजनिक यातायातसँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिनेछ।

बैठकमा अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सरल, सहज र पहुँचयोग्य बनाउनुपर्ने बताइन्। उनले रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्नुका साथै विद्यालय तथा कलेज जाने विद्यार्थीका लागि बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक रहेको बताइन्।

यसका लागि उपत्यकाका स्थानीय तहबीच वित्तीय साझेदारीसहितको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन। पालिका–पालिका जोडिने भएकाले यो पालिकाहरूको साझा सवाल हो। यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरूपता दिनुपर्छ,’ डंगोलले भनिन्।

परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले सहजताको अनुभूति गर्ने प्रणाली विकास गर्नुपर्ने बताए।

‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषद्ले आकार बदल्न सक्ने क्षमता राख्छ। यो क्षमताको प्रयोग गरौँ,’ महर्जनले भने।

प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले कार्यक्षेत्रका विषयमा अन्तरसरकारी तहमा समान बुझाइ नहुँदा विगतमा काम अघि बढाउन समस्या भएको बताए। उनका अनुसार गत वर्ष सरकारले प्राधिकरणलाई खारेजीको सूचीमा राखेपछि अघि बढाउन खोजिएका केही काम रोकिएका थिए। चालु वर्ष पुनःसंरचना गर्ने सरकारको निर्णय आएपछि नयाँ कार्यक्रम अघि सारिएको उनले बताए।

चालु आर्थिक वर्षका लागि बस स्टप, पिक–ड्रप पोइन्ट निर्धारण गर्ने, रात्रिकालीन बस सञ्चालनको सर्त तथा सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य थाल्ने कार्यक्रम स्वीकृत भएका छन्।

त्यस्तै, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बसपार्कलगायत स्थानमा जीपीएस ट्र्याकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने योजना पनि अघि सारिएको छ।

टिकट लिएर यात्रा गर्ने संस्कारलाई प्रोत्साहन गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सार्वजनिक यातायातसम्बन्धी अध्ययन तथा अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा उपत्यकाका नगरपालिकाबीच आपसी सम्बन्ध र सहकार्य, सम्पदा तथा पर्यटकीय क्षेत्र लक्षित सार्वजनिक यातायात सञ्चालनलगायत विषयमा समेत छलफल भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend