जन आकाश
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
थारू कल्याणकारिणी सभाले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताइन्।
थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई ‘टीकापुर विद्रोह दिवस’का रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै अधिकार, पहिचान र न्यायका सवालमा आफूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन्।
उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend