जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन अब थप ढिला नगरी सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै नागरिकलाई सत्य जान्ने र पीडितलाई न्याय पाउने अधिकार रहेको बताएका छन्।
उनले प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भइरहेको उल्लेख गरेका छन्।
थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिबद्धता जनाउने र सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसक्ने अवस्था दोहोरिएको बताए।
२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ। प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरूले न्याय पाउन नसकेको उनले बताए।
विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको कमजोरीलाई अब पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने थापाको धारणा छ। उनले यसपटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय राजनीतिक प्रतिबद्धतामा मात्र सीमित हुन नहुनेमा जोड दिए।
“अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,” थापाले भनेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend