logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मलेसियाले तोकेका २५ म्यानपावरमध्ये दुईमा व्यवसायी संघले लगायो ताला


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले नेपालबाट श्रमिक लैजान सूचीकृत गरेका २५ म्यानपावर कम्पनीमध्ये दुईवटामा सांकेतिक कारबाहीस्वरूप ताला लगाएको छ।



संघका अध्यक्ष डिकबहादुर खत्रीले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत एसिया लिंक सर्भिसेज प्रालि र ट्रस्ट नेपाल ओभरसिज प्रालिमा ताला लगाइएको जानकारी दिए। मलेसियाले श्रमिक लैजाने प्रक्रियामा सिन्डिकेट लागू गर्न खोजेको र त्यसमा सहयोग गरेको आरोपमा ती कम्पनीमा ताला लगाइएको संघले जनाएको छ।

मलेसियाले आप्रवासी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मार्फत नेपालबाट २५ वटा म्यानपावर कम्पनी सूचीकृत गरी ती कम्पनीबाट मात्रै श्रमिक लैजाने व्यवस्था अघि बढाएपछि व्यवसायी संघले विरोध जनाएको हो।

मलेसियाले नेपालसहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्स गरी १० स्रोत मुलुकका म्यानपावर कम्पनीलाई उक्त प्रणालीमा सूचीकृत गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले सूचीकृत कम्पनीबाहेक अन्य म्यानपावरमार्फत श्रमिक नलैजाने जनाएको छ।

नेपालबाट सूचीकृत २५ म्यानपावर कम्पनी

  • फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि
  • लाल धनुष इन्टरनेसनल सर्भिस
  • नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि
  • द रिभर ओभरसिज प्रालि
  • एसिया लिंक सर्भिसेज प्रालि
  • मोन्टाज ओभरसिज प्रालि
  • नेपाल एचआर सोलुसन प्रालि
  • स्काई पावर इन्टरनेसनल सर्भिसेज
  • ट्रस्ट नेपाल ओभरसिज प्रालि
  • एक्सेस पार्टनर्स प्रालि
  • ह्वाइट हर्स इन्टरनेसनल प्रालि
  • ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि
  • बिएम ओभरसिज प्रालि
  • इन्डो अरब म्यानपावर प्रालि
  • समयोग ओभरसिज प्रालि
  • ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि
  • वाइड स्पेस इन्टरनेसनल
  • खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि
  • एएनएस एसोसिएट्स प्रालि
  • अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि
  • अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस
  • बिलिभेबल ओभरसिज प्रालि
  • डी स्क्वायर्ड ग्रुप
  • डीडी ह्युमन रिसोर्सेस ग्रुप प्रालि
  • प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि

नेपाल र मलेसियाबीच द्विपक्षीय श्रम सम्झौता भए पनि मलेसियाले एकतर्फी रूपमा २५ वटा म्यानपावर कम्पनी तोकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। यसबारे अन्य म्यानपावर व्यवसायी तथा सरकारलाई समेत पर्याप्त जानकारी नदिइएको उनीहरूको दाबी छ।

श्रम मन्त्रालयले भने यस विषयमा नेपालका लागि मलेसियाली कार्यवाहक राजदूतसँग छलफल गरिसकेको र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाइसकेको जनाएको छ।

समस्याबारे छलफल गर्न सोमबार मन्त्रालयले संघको रोहबरमा सूचीकृत २५ वटै म्यानपावर व्यवसायीलाई बोलाएको छ। उक्त छलफलपछि थप २३ म्यानपावर कम्पनीमा पनि ताला लगाउने वा अहिले लगाइएको ताला खोल्ने भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्ने अध्यक्ष खत्रीले बताएका छन्।

वैदेशिक रोजगारीमा श्रमिक पठाउने विषयमा सबै व्यवसायीको समान अधिकार हुनुपर्ने र कुनै पनि कम्पनीलाई एकाधिकार दिन नहुने संघको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend