जन आकाश
काठमाडौं । नागढुंगा सुरुङमार्ग आजदेखि निजी सवारी साधनका लागि पनि खुला गरिएको छ। सुरुङमार्गमा ९ जनासम्म यात्रु बोक्ने कार, जिप र भ्यानलाई परीक्षणका रूपमा सञ्चालन गर्न अनुमति दिइएको हो।
नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीलाई सुरुङमार्गबाट आवागमन गर्न दिइएको छ।
करिब एक महिनाअघि उद्घाटन गरिएको सुरुङमार्गमा यसअघि आपतकालीन सवारीलाई मात्र प्रवेश दिइँदै आएको थियो। अहिले निजी सवारीलाई निश्चित समयका लागि परीक्षणस्वरूप प्रवेश खुला गरिएको हो।
श्रेष्ठका अनुसार परीक्षणका क्रममा चालकहरूले भोगेका समस्या तथा अनुभवका आधारमा यसै साता विश्लेषण गरिनेछ। त्यसपछि अन्य सवारी साधनलाई पनि क्रमशः सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
तत्कालका लागि निजी सवारी साधनबाट कुनै शुल्क नलिइने जनाइएको छ। सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। यस्तै, सोमबार बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको श्रेष्ठले जानकारी दिए।
सुरुङभित्र सवारी सञ्चालन गर्दा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र चलाउनुपर्नेछ। सवारीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने, सुरुङभित्र गाडी रोक्न नपाइने र ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ।
सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा युनिट, शुल्क संकलन युनिटलगायत आवश्यक संरचना तयार पारिँदैछ। सुरुङभित्रका गतिविधिलाई सीसीटीभीमार्फत निगरानी गर्ने व्यवस्था पनि मिलाइएको सुरक्षा युनिटले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend