जन आकाश
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरूले विश्वासको मत दिएका थिए। ९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ सदस्य कायम छन्। एमालेका ४० र माओवादी केन्द्रका १७ जना प्रदेश सभा सदस्य छन्।
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले भने मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरेका थिए। २९ सदस्य रहेको कांग्रेसका तर्फबाट विपक्षमा २२ मत परेको थियो।
यस्तै, सभामुखसहित पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश सभा सदस्यहरू मतदान प्रक्रियामा तटस्थ बसेका थिए। जनता समाजवादी पार्टी नेपालकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बू भने प्रदेश सभा बैठकमा अनुपस्थित थिइन्।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई प्रदेश सभाबाट औपचारिक समर्थन प्राप्त भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend