जन आकाश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको छ। थापालाई पदमुक्त गरिएको औपचारिक पत्र राप्रपाले बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंलाई बुझाएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दल नेता थापाले नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन रहेको पत्र लेखेर दिएपछि उनलाई पदमुक्त गरिएको हो। उपसभामुख चापागाईंलाई पत्र बुझाउने क्रममा केही समय आनाकानी गरेको समेत श्रेष्ठले बताएका छन्।
यसअघि राप्रपाकी बागमती प्रदेश प्रमुख सचेतक कुमारी तामाङले सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत उद्धव थापालाई पदमुक्त गरिएको विषय उठाएकी थिइन्।
बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकारमा राप्रपाका तीन जना मन्त्री सहभागी छन्। मुख्यमन्त्रीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
तर, राप्रपा केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकारमा सहभागी नहुन र मुख्यमन्त्रीलाई समर्थन नगर्न निर्देशन दिएको थियो। यसैबीच मुख्यमन्त्रीलाई विश्वासको मत दिने र नदिने विषयमा राप्रपाभित्रैबाट फरक–फरक ह्विप जारी भएपछि पार्टीभित्र विवाद चर्किएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend