logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

जेनजी शहीद परिवार र घाइतेका माग सम्बोधन गर्न सरकारले बनायो समर्पित संयन्त्र


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ।



गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव तथा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिहरू सहभागी थिए।

छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र २०८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनबारे छलफल गरिएको थियो।

माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ।

यससँगै शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई आवश्यक कामका लागि सिंहदरबार प्रवेशमा सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ।

छलफलमा जेनजी परिषद् घोषणा, जेनजी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेनजीको शालिक निर्माण तथा जेनजी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।

यी विषयलाई क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा छलफलमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको छ।

जेनजीका माग शीघ्र सम्बोधन गर्न सबै जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समान बुझाइका साथ समन्वयात्मक र एकीकृत ढंगले क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend