logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

सुस्तामा बाढीको जोखिम टरेपछि घर फर्किँदै स्थानीय


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । तिब्बतबाट हिमाली जिल्ला रसुवा हुँदै आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा परेको पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका स्थानीय बिस्तारै घर फर्किन थालेका छन्



बाढीको जोखिम बढेपछि बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो । करिब ४ सयभन्दा बढी स्थानीयलाई विद्यालयमा राखेर खानासमेत खुवाइएको थियो ।

बिहीबार बिहान ४ बजेदेखि नारायणी नदीको पानीको सतह पुरानै अवस्थामा रहेको र ठुलो बाढीको जोखिम नदेखिएपछि स्थानीय घर फर्किन थालेका हुन् । सुस्ता गाउँपालिका–५ का वडा सदस्य एवं सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले स्थानीयहरू बिहानैदेखि पारी सुस्तास्थित आफ्ना घर फर्किन थालेको रातोपाटीलाई बताए ।

उनका अनुसार सुस्ताको थारू टोलका सात घरमा सामान्य पानी पसे पनि कुनै क्षति भएको छैन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै अन्य स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो ।

‘हामीले पूर्वतयारी गरेर स्थानीयलाई सुरक्षित स्थानमा ल्याएका थियौँ, तर पूर्वअनुमान गरेजस्तो ठुलो बाढी सुस्तामा आएन,’ खाँले भने ।

नारायणी नदीको पानीको सतह क्रमशः घट्दै गएको र गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएपछि सुस्तामा तत्काल ठुलो समस्या नदेखिएको उनले बताए ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पनि चितवनतर्फबाट नारायणी नदीमा आएको पानी तलतिर फैलिँदै जाँदा सुस्तासम्म आइपुग्दा बहाव केही कम भएकाले पूर्वानुमान गरेजस्तो ठुलो समस्या नआएको बताए । ‘हामीले सबै पूर्वतयारी गरेर बसेका थियौँ, तर अप्ठ्यारो अवस्था आएन,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend