जन आकाश
काठमाडौं। रसुवा बाढीबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गरिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले प्रभावित स्थानीय तहबाटै क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार प्रभावित स्थानीय तहका कार्यालय तथा संरचनामा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरी नियमित रूपमा अद्यावधिक गरिनेछ।
त्यस्तै, विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोष तथा अन्य उपलब्ध स्रोतबाट आवश्यक बजेट प्रचलित कानुनबमोजिम परिचालन गर्ने निर्णय भएको छ।
प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन तथा विपद् नक्सांकनको जिम्मेवारी नापी विभागलाई दिइएको छ। विभागले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थालाई आधार बनाएर क्षतिको विवरण संकलन तथा नक्सांकन गर्नेछ।
नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित तथा विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लाहरू प्रभावित भएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, क्षति मूल्यांकन तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थाबीच समन्वय गरी अघि बढ्ने सरकारको तयारी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend