जन आकाश
काठमाडौं । भन्सार विभागले उत्तरी नाका हुँदै नेपाल भित्रिन लागेका मालवाहक सवारीसाधनलाई तत्कालका लागि मुस्ताङको कोरला नाका प्रयोग गर्न आग्रह गरेको छ।
रसुवा र तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालवाहक सवारीसाधनका चालक, सहचालक तथा व्यवसायीलाई वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गर्न विभागले अनुरोध गरेको हो।
कोरला नाका प्रयोग, वैकल्पिक मार्ग तथा भन्सार प्रक्रियाका लागि आवश्यक सहजीकरणको तयारी गरिएको विभागले जनाएको छ। नाका प्रभावित भएपछि आयात–निर्यातमा हुन सक्ने थप अवरोध कम गर्न वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो।
बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण भन्सार कार्यालय तथा आसपासका संरचनामा क्षति पुगेको छ भने भन्सार कर्मचारी, सर्वसाधारण, व्यवसायी तथा मालवाहक सवारीसाधनका चालक र सहचालकसमेत प्रभावित भएका छन्।
विपद्का कारण नियमित आवागमन तथा व्यापारिक गतिविधिमा अवरोध उत्पन्न भएपछि मालवाहक सवारीसाधनलाई वैकल्पिक नाका प्रयोग गरी आपूर्ति प्रणालीलाई निरन्तरता दिन विभागले आग्रह गरेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend