जन आकाश
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको हो।
विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
कम्पनीले विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ।
कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात गर्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले राष्ट्रलाई आवश्यक परेको कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको छ।
आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend