जन आकाश
काठमाडौं । भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिपछि अस्ट्रेलिया सरकारले राहत सामग्री, उद्धार उपकरण र जनशक्तिसहितको टोली नेपाल पठाउने भएको छ।
अस्ट्रेलिया सरकारले रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएफ) को सी–१७ए ग्लोबमास्टर विमानमार्फत अत्यावश्यक राहत सामग्री तथा उद्धार उपकरणसहितको जनशक्ति केही दिनभित्र नेपाल पठाउने तयारी गरेको हो।
विनाशकारी बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि अस्ट्रेलिया सरकारले थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यो बाढीपछि अस्ट्रेलियाबाट उपलब्ध गराइने दोस्रो चरणको मानवीय सहायता हो।
नेपाल सरकारले अस्ट्रेलियासँग हाइजिन किट, सौर्य बत्ती लगायतका अत्यावश्यक आपत्कालीन सामग्री उपलब्ध गराउन अनुरोध गरेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ। थप सहयोगअन्तर्गत २० लाख अस्ट्रेलियन डलर यस्ता राहत सामग्री तथा अन्य मानवीय सहायता उपलब्ध गराउन छुट्याइएको छ।
आरएएफले उक्त सहयोग सामग्रीमध्ये पहिलो खेप आगामी केही दिनमा क्विन्सल्यान्डबाट नेपाल ल्याउने तयारी गरिरहेको छ। भोटेकोसी बाढीपछि नेपालमा रहेका ४२ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ। यद्यपि, नेपाल पर्यटन बोर्डले भने ३५ जना अस्ट्रेलियाली पर्यटक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको छ।
सम्पर्कविहीन नागरिकको अवस्था यकिन गर्न तथा उनीहरूका परिवार र आफन्तलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाले नेपाली उद्धार टोलीसँग समन्वय गरी खोजी कार्य अघि बढाइरहेको जनाएको छ।
संकट व्यवस्थापन, कन्सुलर सेवा तथा अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) का अधिकारीसहित १२ सदस्यीय अस्ट्रेलियाली उद्धार तथा प्रतिक्रिया टोली अहिले काठमाडौंमा रहेको रक्षा मन्त्रालयले जनाएको छ।बाढीपछि अस्ट्रेलियाली सर्वसाधारणबाट हालसम्म १४ लाख अस्ट्रेलियन डलर सहयोग संकलन भएको छ। यसमा थप गर्दै अस्ट्रेलिया सरकारले थप १० लाख अस्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ।
यससँगै अस्ट्रेलिया सरकारको प्रत्यक्ष योगदान २० लाख अस्ट्रेलियन डलर पुग्नेछ। उक्त रकम अस्ट्रेलियाली गैरसरकारी संस्थाका साझेदारमार्फत स्थानीय संस्थासँग सहकार्य गरी बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माणका लागि खर्च गरिनेछ।थप सहयोगसमेत जोड्दा भोटेकोसी बाढी प्रभावित नेपालका लागि अस्ट्रेलिया सरकारले उपलब्ध गराउने कुल मानवीय सहायता ८० लाख अस्ट्रेलियन डलर पुग्नेछ।
अस्ट्रेलिया सरकारले नेपाल सरकारसँग निरन्तर समन्वय र संवाद भइरहेको जनाउँदै आवश्यकता अनुसार आगामी दिनमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend