जन आकाश
काठमाडौं । करिब दुई दशकपछि मनिष मिश्र आफ्नै नेपाली काँग्रेस फर्किएका छन् । नेपाली कांग्रेसले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेपछि नेपाली काँग्रेसमा फर्किएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले उक्त कुरा पुुष्टि गरेका हुन् । उनले लेखेका छन् ।
आफूले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रूपमा मनोनयन भएको आधिकारिक पत्र प्राप्त गरेको जानकारी दिँदै यो क्षण आफ्ना लागि खुसीसँगै नयाँ र गहिरो जिम्मेवारीको सुरुवात भएको बताएका छन्। पार्टीका नेता, साथी तथा शुभेच्छुकबाट प्राप्त बधाई र शुभकामनालाई उनले आफूले पाएको ठूलो हौसला र विश्वासका रूपमा लिएका छन्।
केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेपछि मिश्रले पार्टी सभापति गगनकुमार थापासहित कांग्रेसका अग्रज नेताहरू तथा समायोजन समितिमा रहेका अर्जुननरसिंह केसी, उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई धन्यवाद दिएका छन्।
मिश्रले आफू यसअघि पनि राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेको स्मरण गरेका छन्। महासचिवको जिम्मेवारीमा रहँदा आफू गाउँ–गाउँसम्म पुगेको र मधेशका अधिकांश जिल्लामा पुगेर त्यहाँका समस्या बुझ्ने तथा आफ्नो क्षमताअनुसार समाधानका लागि पहल गर्ने काम गरेको उनले बताएका छन्।
तर अबको अवस्थामा त्यतिले मात्रै नपुग्ने उनको भनाइ छ। देशको सबैभन्दा तल्लो तहको वडाको कुनादेखि सगरमाथाको चुचुरोसम्म फरक शैली, सकारात्मक सोच र परिणाममुखी दृष्टिकोणका साथ काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
‘कुन पार्टी राम्रो र कुन पार्टी खराब’ भन्ने बहसमा आफू नअल्झिने उल्लेख गर्दै मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमले अब घिसिपिटी शैलीको राजनीति नभई बलियो कार्यान्वयन खोजेको बताएका छन्। उनका अनुसार जनताले पदको जिम्मेवारी मात्रै होइन, देशलाई आफ्नोपन महसुस गराउन सक्ने राजनीतिक नेतृत्व खोजिरहेका छन्।
युवाहरूले गर्व गर्न सक्ने र आफ्नो भावनासँग जोडिन सक्ने राजनीतिक नेतृत्व आवश्यक रहेको भन्दै उनले देशको माटोले समृद्धि खोजिरहेको बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend