logo शनिबार, असोज १७ २०८३ | Saturday 3rd October 2026

साहित्यकार इल्या भट्टराईलाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरिने


  • जन आकाश
  • शनिबार, असोज १७ २०८३

291,390,0,0.8131578947368421,-1

 



काठमाडौँ।

नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकी विशिष्ट साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार प्रतिष्ठानको हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

कथा, नियात्रा, यात्रा संस्मरण तथा बाल साहित्यका क्षेत्रमा दर्जनभन्दा बढी कृतिहरू सिर्जना गरिसक्नुभएकी भट्टराई नेपाली साहित्य जगत्‌की अग्रणी स्रष्टा हुनुहुन्छ। वि.सं. २०७३ मा स्थापित यस प्रतिष्ठानले नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्नुहुने यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको स्मृतिमा यो सम्मान स्थापना गरेको हो।

प्रतिष्ठानका अध्यक्ष थापाले दिएको जानकारीअनुसार पूर्ण रूपमा पारिवारिक स्रोतबाट सञ्चालित यस संस्थाले हालसम्म मासिक तथा त्रैमासिक कार्यक्रममार्फत ८३ जना र वार्षिक कार्यक्रमअन्तर्गत १० जना अग्रज साहित्यकारहरूलाई सम्मानित गरिसकेको छ। प्रतिष्ठानले प्रदान गर्ने वार्षिक पुरस्कारको राशि रु. २५,०००/- र त्रैमासिक पुरस्कारको राशि रु. १०,०००/- रहेको छ।

प्रतिष्ठित साहित्यकार मदनमणि दीक्षित र आमा रिता दीक्षितकी सुपुत्रीका रूपमा २८ नोभेम्बर १९५५ मा जन्मिनुभएकी भट्टराईले बी.ए. र बी.एड.सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। हाल काठमाडौँको दोचामार्ग, महाराजगञ्जमा निवास गर्दै आएकी उहाँले विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरूको कुशल सम्पादन गर्नुका साथै थुप्रै सामाजिक तथा साहित्यिक सङ्घ-संस्थाहरूमा सक्रिय योगदान दिँदै आउनुभएको छ। विश्वका दुई दर्जनभन्दा बढी मुलुकहरूको भ्रमण गरिसक्नुभएकी भट्टराई दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कारहरूबाट विभूषित भइसक्नुभएको छ।

आगामी २०८३ असोज २४ गते आयोजना गरिने प्रतिष्ठानको नियमित त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान समारोहका बीच साहित्यकार भट्टराईलाई औपचारिक रूपमा उक्त सम्मान तथा पुरस्कार समर्पण गरिने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend