logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, आजदेखि मौसममा क्रमिक सुधार हुने


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै रहेकाले मौसममा सुधार हुने देखिएको हो।

हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

तराई, उपत्यका तथा खोँचका केही स्थानमा भने बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend