जन आकाश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै जिल्लाको समग्र विकास, पूर्वाधार निर्माण, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका समस्याबारे छलफल गरेका छन्।
अन्तरक्रियाका क्रममा सहभागीहरूले गोरखा विकास निर्माणका दृष्टिले पछाडि परेको भन्दै जिल्लाको पूर्वाधार विकास र पर्यटकीय सम्भावनाको उपयोगमा सरकारले पर्याप्त ध्यान दिन नसकेको गुनासो गरेका छन्। उनीहरूले जिल्लाको समग्र विकासलाई गति दिन सडक, पुललगायत आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।
त्यस्तै, स्थानीय किसानले उत्पादन गरेका कृषि उपजले उचित बजार र मूल्य नपाएको विषय पनि उठाइएको छ। नेपाली किसानको उत्पादनले बजारमा प्राथमिकता पाउनुपर्ने भन्दै सहभागीहरूले कृषि उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन र किसानलाई उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे पनि आफ्ना धारणा राखेका थिए। गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने उनीहरूको माग थियो।
सहभागीका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए।
यसैबीच, केही साताअघि बूढीगण्डकीमा आएको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएको विषयलाई लिएर सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए। बाढीका कारण प्रभावित आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका हुन्।
अन्तरक्रियामा सहभागीहरूले गोरखावासीलाई भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको बताएका छन्। विकास, पूर्वाधार, कृषि, पर्यटन तथा उद्योग–व्यवसायको क्षेत्रमा परिणाममुखी काम हुनुपर्नेमा जोड दिँदै उनीहरूले गृहमन्त्री गुरुङबाट ठोस पहलको अपेक्षा व्यक्त गरेका छन्।
गोरखाका नागरिकका समस्या, सुझाव र अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend