जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलहरूबीच सघन छलफल भइरहेको बताएका छन्।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार गठनका लागि विभिन्न विकल्प खुला राखेर दलहरूबीच संवाद भइरहेको जानकारी दिएका हुन्।
उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरू मधेश प्रदेश सरकारको स्थायित्व सुनिश्चित गर्ने विषयमा छलफलमा जुटेको बताए। सरकार गठनबारे चाँडै नै सहमतिमा पुग्ने उनको विश्वास छ।
प्रचण्डले भने, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेश सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ। अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ।’
उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीच सहकार्य, समन्वय र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आफ्नो पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको पनि बताए।
मधेश प्रदेशमा सरकार गठन र राजनीतिक स्थायित्वको विषय पेचिलो बनिरहेका बेला प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई दलहरूबीच सहमति जुटाउने प्रयासका रूपमा हेरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend