जन आकाश
काठमाडौं । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण जनाउँदै पाँचबुँदे निर्णय सार्वजनिक गरेको छ।
सर्वोच्च अदालत प्रशासनले विज्ञप्ति जारी गर्दै प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।
पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनी शासनप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको स्पष्ट पारेको छ। साथै, सञ्चारमाध्यममा आएका समाचारका विषयमा हुने छानबिन तथा अनुसन्धानमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्न र आवश्यक सहयोग गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको जनाएको छ।
त्यसैगरी, छानबिनको निष्कर्ष सार्वजनिक हुनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।
पूर्ण बैठकले सार्वजनिक भएका समाचारबाट विचलित नभई आफ्नो जिम्मेवारीअनुसार न्यायिक कार्यमा निरन्तर क्रियाशील रहन देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीहरूलाई समेत आग्रह गरेको छ।
सर्वोच्च अदालतको यो निर्णय न्यायपालिकासँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन, संस्थागत जवाफदेहिता र न्याय सम्पादनको निरन्तरतामा केन्द्रित रहेको देखिन्छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend