जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो।
एनपीएलमा काठमाडौंले अहिलेसम्म सुदूरपश्चिमलाई पराजित गर्न सकेको छैन। पहिलो संस्करणमा ७३ रन र दोस्रो संस्करणमा २९ रनले सुदूरपश्चिम विजयी भएको थियो।
लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको सुदूरपश्चिम ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। एक खेल कम खेलेको काठमाडौं गोर्खाज पनि ८ अंकसहित दोस्रो स्थानमा रहेको छ। काठमाडौंले ५ खेलमध्ये ४ मा जित र १ मा हार बेहोरेको छ।
आजको खेलका लागि दुवै टोलीले आफ्नो प्लेइङ–११ मा दुई–दुई खेलाडी परिवर्तन गरेका छन्। सुदूरपश्चिमले सैफ जैब र अविनाश बोहराको स्थानमा फाबियन एलेन र दीपक बोहोरालाई टोलीमा समेटेको छ। फाबियनले आजको खेलबाट एनपीएलमा डेब्यु गर्नेछन्। यता, काठमाडौंले डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा हेजलेट र दुसान हेमन्थालाई प्लेइङ–११ मा समावेश गरेको छ।
दुवै टोलीको प्लेइङ–११
सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहोरा, ब्रान्डन म्याकमुलेन, स्कट कुगेलेइन, थरिन्दु रत्नायके र फाबियन एलेन।
काठमाडौं गोर्खाज : करण केसी, भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, साहिल पटेल, गणेश गौतम, दुसान हेमन्था, सहान, जहानदाद खान र सामुएल हेजलेट।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend