logo शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026
logo

शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026

चैतमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारलाई निर्वाचनको तयारी र योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्।



शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्धारित समयमा निर्वाचन नगराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने बताए। ‘आगामी चैतमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ। तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो,’ महामन्त्री पौडेलले भने।

उनले स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सरकारको सोच भए संविधान संशोधन गर्नुपर्ने बताए। तर निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा सरकारले कुनै ठोस गृहकार्य नगरेको उनको आरोप छ।

सरकारले निर्वाचन प्रणाली परिवर्तन गर्न खोजेको हो वा निर्धारित समयमै निर्वाचन गराउन चाहेको हो भन्नेबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए। सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि अन्य शक्तिसँग सहकार्य गरेर आन्दोलन गर्ने उनले बताए।

‘कांग्रेस अहिले सडक आन्दोलनमा जानुभन्दा पनि सरकारलाई सचेत गराउँदै शान्तिपूर्ण र विधिसम्मत ढंगले आफ्ना प्रश्न राख्ने पक्षमा छ। तर लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने अवस्था आएमा त्यसको रक्षाका लागि आन्दोलन र अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्ने छैन,’ उनले भने।

उनले सरकारलाई नागरिकका आवाज र असहमतिहरू सुन्न पनि आग्रह गरे।सडकमा उभिएर आफ्ना कुरा राख्ने नागरिकको आवाजसमेत सरकारले सुन्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। सरकार सच्चिएर सही बाटोमा आउने विश्वास अझै रहेको उल्लेख गर्दै पौडेलले त्यसो नभए लोकतन्त्रको रक्षाका लागि कांग्रेस संघर्षमा ओर्लिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend