जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनमा फाइनल पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम लगातार तेस्रो सिजन प्लेअफमा प्रवेश गरेको हो।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।
काठमाडौंलाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक थियो। तर बलिङमा आएका हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमको जित सुनिश्चित गरे। अन्तिम ओभरमा काठमाडौंका ब्याटरले चौका तथा छक्का प्रहार गर्न नसक्दा टोली ७ रनले पराजित भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। सुदूरपश्चिमको सुरुवात निकै कमजोर रह्यो। मात्र ८ रन जोड्दा टोलीले चार महत्वपूर्ण विकेट गुमाएको थियो।
तर कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवार ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हाले। उनले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रन र थारिन्दु रत्नायकेसँग छैटौँ विकेटका लागि थप ५४ रनको साझेदारी गरे।
दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए। त्यस्तै थारिन्दुले अविजित २६ रन जोड्दा आरिफले १६ रन बनाए।
१२६ रनको लक्ष्य पछ्याएको काठमाडौंको ब्याटिङ पनि सुरुदेखि नै दबाबमा रह्यो। ४८ रन जोड्दा पाँच विकेट गुमाएको काठमाडौंलाई राशिद खानले सम्हाल्ने प्रयास गरे। उनले ३१ बलमा ५ चौकासहित अविजित ३५ रन बनाए। दुशन हेमन्थाले २१ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने स्कट कुगेलेइन, फाबियन एलेन र हेमन्त धामीले समान एक विकेट हात पारे। काठमाडौंका जाहान्दाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले लिग चरणका सबै खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ऊ प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि लुम्बिनी लायन्सले ९ अंकसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। यता, ८ अंक जोडेको काठमाडौं गोर्खाजको प्लेअफ सम्भावना भने अझै कायम छ। टोलीले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेकाले त्यसको नतिजाले प्लेअफ समीकरण थप स्पष्ट पार्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend