जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कानुनका नाममा राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य नहुने बताएका छन्।
बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टी सभापति गगन थापालाई सरकारले पक्राउ गर्न सक्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै विधिको शासन र कानुनी प्रक्रियाको पालना हुनुपर्नेमा जोड दिएका हुन्।
सरकारका गलत काम, अन्याय र विधिको उल्लंघनविरुद्ध आवाज उठाउनु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उनले पक्राउ र दबाबबाट कांग्रेसको आवाज रोक्न नसकिने बताए।
‘जहाँसम्म पार्टी सभापतिको पक्राउको विषय छ, हामी विधिको शासन र कानुनी प्रक्रियाको सम्मान गर्छौँ। तर कानुनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन,’ पौडेलले भने।
सभापति थापाबारे एक बिचौलियाले दिएको भनिएको बयानमाथि समेत प्रश्न उठाउँदै उनले कुनै पनि आरोपको निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट निरूपण हुनुपर्ने बताए।
दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले आफूखुसी निर्णय गर्न नपाउने उल्लेख गर्दै पौडेलले बहुमतका आधारमा सरकारको आलोचना गर्नेहरूलाई डर र त्रास सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए।
उनले सरकारका गलत काम र गतिविधिविरुद्ध कांग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पारे। पक्राउ र दबाबबाट पार्टी पछि नहट्ने उनको भनाइ थियो।
यसैगरी, महामन्त्री पौडेलले मधेसका समस्या र आवश्यकतालाई नेपाली कांग्रेसको केन्द्रीय एजेन्डामा समेट्नुपर्ने बताएका छन्। मधेसको वास्तविक आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीय नेता तथा कार्यकर्ताले उठाएका मुद्दालाई पार्टीको नीति, योजना र कार्यक्रममा प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
उनले पार्टीका योजना तथा कार्यक्रम जनताको वास्तविक आवश्यकता र अपेक्षासँग जोडिनुपर्नेमा जोड दिँदै मधेसका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend