जन आकाश
कार्तिक २८, काठमाडौँ
सूचक प्रकाशन, नेपालको आयोजनामा दीपक भेटुवाल ‘दीपसागर’द्वारा लिखित समालोचनात्मक पुस्तक ‘बालसाहित्यमा जलेश्वरी’ विमोचन गरिएको छ ।
पुतलीसडकस्थित ग्रिनलिफ फुडमा एक विशेष समारोहका बीच ‘बालसाहित्यमा जलेशरी श्रेष्ठ’ पुस्तक विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको हो ।
कार्यक्रमको आरम्भमा अतिथि तथा उपस्थित महानुभावहरूको आसनग्रहण पश्चात् दीप प्रज्वलन गरेर संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
सूचक प्रकाशनका संरक्षक सदस्य हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार एवं बालसाहित्यकार जलेश्वरी श्रेष्ठको विशेष अतिथिका रूपमा उपस्थिति रहेको थियो ।
त्यसैगरी कर्यक्रममा बालसाहित्यका विशिष्ट स्रष्टा एवं अनुसन्धाता प्रमोद प्रधान,समालोचक एवं प्राज्ञ डा. ज्ञानु पाण्डे,बालसाहित्यकारहरू डा. शैलेन्दु प्रकाश नेपाल र डा. छायादत्त नेपाल बगर, तथा डा. नवराज रिजाल,शिक्षाविद् तथा समाजसेवी केदारनाथ श्रेष्ठ लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अभ्यागतहरुलाई स्वागत मन्तव्य राख्दै जयराम विडारीले ‘स्रष्टा आफ्ना अमर सिर्जनाहरूको बलमा सधैँ बाँचिरहन्छन्’। जसरी आदिकवि भानुभक्तको प्रतिभामाथि मोतिराम भट्टजस्ता गुणीजनको दृष्टि पर्दा उनको कीर्तिले नयाँ उचाइ लियो, त्यसरी नै विशिष्ट लेखनकला र साधनाका धनी साहित्यकार दीपक भेटुवाल ‘दीपसागर’ले यस अघि पनि भद्रकुमारी घलेजस्ता सशक्त स्रष्टाको जीवन एवं कृतित्वमाथि हजारौँ पृष्ठका ग्रन्थ तयार पारेर आफ्नो अद्भुत लेखकीय क्षमतालाई समयको कसिमा उज्ज्वल रूपमा साबित गरिसकेका छन् । त्यसैगरी दीपक भेटुवालले आज बालसाहित्यमा जलेश्वरी श्रेष्ठको समालोचना तैयार पारी उनको योगदानलाई अक्षुण्ण राख्ने सार्थक कर्म प्रति साधुवाद व्यक्त गरे ।
उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका वरिष्ठ बालसाहित्यकार तथा अनुसन्धाता प्रमोद प्रधानले नेपाली बालसाहित्यको १५९ वर्ष लामो इतिहास रहे तापनि यस क्षेत्रमा अझै उल्लेखनीय प्रगति हुन नसकेको बताए । उनले नेपाली साहित्यिक क्षेत्रमा बालसाहित्य लामो समयसम्म उपेक्षित विधाका रूपमा चित्रित हुँदै आएको उल्लेख गर्दै वि.सं. २०४५ मा नेपालमा बालसाहित्य सम्बन्धी संस्थाको गठन भएपछि मात्र यस क्षेत्रमा थोरै आधिकारिक तथा औपचारिक कार्यको शुभारम्भ भएको र त्यो पर्याप्त नरहेको धारणा राखे । प्रधनले शिशु साहित्य, बालसाहित्य र प्रौढ साहित्यमध्ये बालसाहित्य पूर्णतया पाठक-केन्द्रित विधाका रूपमा परिचित रहेको स्पष्ट पार्दै यय विधामा अत्यन्त संवेदनशील भएर कलम चलाउनु पर्नेमा जोड दिए । उनले बालसाहित्यका क्षेत्रमा डा. अच्युतरमण अधिकारीले समग्र बालसाहित्यमा विद्यावारिधि (पीएच.डी.) हासिल गरेपश्चात् जयन्ती रुपाखेती, विनय कसजू र विजयराज आचार्यको योगदानलाई स्मरण गर्दै व्यक्तिकेन्द्रित पाँचौँ कृतिका रूपमा आफूले प्रस्तुत पुस्तकमा भूमिका निर्वहन गरिएको बताए । साथै, उनले बालसाहित्यका यस्ता महत्त्वपूर्ण कृतिहरूलाई पुस्तान्तरण गरी सुरक्षित राख्नुपर्नेमा जोड दिँदै थेसिस वा शोधपत्र तयार पार्नका लागि यो पुस्तक अत्यन्तै महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा बालसाहित्यका क्षेत्रमा सुपरिचित डा.शैलेन्दु प्रकाश नेपालले दर्जनौ कविता, कथा, समीक्षा, जीवनी तथा अनुसन्धानात्मक कृति पाठकमाझ ल्याइसकेका बहुमुखी प्रतिभाका धनी दीपक भेटुवाल ‘दीपसागर’ सूचक प्रकाशनमार्फत समाज र राष्ट्रका लागि भाषा, कला र साहित्यका क्षेत्रमा क्रियाशील एक सशक्त स्रष्टा रहेको बताए । उनले साहित्यको विभिन्न विधामा पाठक समक्ष करिब एक दर्जन कृतिहरू दिइसकेका उनका हालै प्रकाशित अनुसन्धानात्मक तथा समालोचनात्मक कृति ‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ पाठकसमक्ष नवीनतम उपलब्धिको रूपमा आएको पनि उल्लेख गरे । मन्तव्यका क्रममा नेपालले सात भागमा विभक्त यस कृतिले स्रष्टा जलेश्वरी श्रेष्ठका बालसाहित्यिक आयामहरूलाई अत्यन्तै सुन्दर, मिहिन र समष्टिगत रूपमा उजागार गरेको भन्दै नेपाली बालसाहित्यका क्षेत्रमा यसप्रकारका शोधमूलक तथा समालोचनात्मक कृतिको सङ्ख्या न्यून रहेको वर्तमान सन्दर्भमा, यस ग्रन्थले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै सर्जक दीपक भेटुवाल र जलेश्वरी श्रेष्ठ दुवैको सुदीर्घ एवं उज्ज्वल भविष्यको हार्दिक कामना व्यक्त गरे ।
यसैगरी कार्यक्रममा अर्का वक्ता डा.छायादत्त न्यौपाने ‘बगर’ ले यस पुस्तकले जलेश्वरी श्रेष्ठका बालकथा र बालउपन्यासलाई सूक्ष्म अध्ययन गरि दीपक भेटुवाल दीपसागरले उहाँको सिर्जनात्मक दृष्टिकोण, बालमनोविज्ञानप्रतिको बुझाइ, सामाजिक सरोकार र साहित्यिक शिल्पको गहन विश्लेषण प्रस्तुत गरिएको बताउँदै कृति सफलताको शुभकामना व्यक्त गरे ।
सोही क्रममा अर्का वक्ता डा. नवराज रिजालले जलेश्वरी श्रेष्ठको साहित्यिक कृतिहरूको गहिरो पठनमार्फत यस अध्ययनले बालसाहित्यमा श्रेष्ठको योगदानलाई उजागर गर्ने सार्थक प्रयासका निम्ति दीपक भेटुवाल दीपसागर सक्षम भएको बताउँदै साथै नेपाली बाललेखनको विकास, विशेषता र उदाउँदा प्रवृत्तिहरूबारे बृहत् दृष्टिकोण प्रदान गर्ने प्रयास गरेको बताए ।
उक्त कार्यक्रममा समालोचक तथा प्राज्ञ डा.ज्ञानु पाण्डेले नदीको प्रवाह जस्तै निरन्तर साधनारत दीपक भेटुवाल दीपसागर साहित्यिक विमर्श र यसको उत्थानमा क्रियाशील रहँदै सूचक प्रकाशन मार्फत स्रष्टा र सिर्जनाको प्रोत्साहन र योगदानको अभिलेखिकरणमा संलग्न रहँदै गर्दा करिव दर्जनौं कृति नेपाली साहित्य भण्डारमा दिन सफल रहेको उल्लेख गर्दै प्रस्तुत कृति सफलताको शुभकामना व्यक्त गरिन् । यसैगरी समाजसेवी तथा शिक्षाविद् केदारनाथ श्रेष्ठले लेखक दीपक भेटुवाल (दीपसागर) को साहित्यिक योगदानको चर्चा गर्दै आफू पनि अध्ययनमा रुचि राख्ने व्यक्ति भएको बताए । उनले आजको कार्यक्रम निकै फलदायी रहेको र यस्ता सिर्जनात्मक कार्यक्रमहरूले समग्र साहित्यिक उन्नयनमा महत्त्वपूर्ण भूमिका निभाउने धारणा राख्दै महत्वपूर्ण कृतिका लागि स्रष्टा जलेश्वरी श्रेष्ठ र लेखक दीपक भेटुवाल दुवैलाई हार्दिक शुभकामना व्यक्त गरे ।
कार्यक्रममा रचनागर्भबारे प्रकाश पार्दै कृतिकार दीपक भेटुवाल ‘दीपसागर’ ले, साहित्यकार जलेश्वरी श्रेष्ठका साहित्यिक योगदान, उनको कृतिहरूका विशेषता, पात्र, परिवेश, भाषाशैली तथा तिनमा व्यक्त विचार र भावनालाई समग्रमा पाठकसमक्ष उजागर गर्न र बालबालिका,एवं बालसाहित्यको मर्मलाई विभिन्न कोणबाट विश्लेषण गर्न यो पुस्तक तयार पारिएको बताए । उनले आगामी दिनमा बालसाहित्यलगायत समग्र साहित्यिक क्षेत्रमा आफ्नो क्रियाशीलता अनवरत रहने स्पष्ट पार्दै प्रस्तुत कृतिमा विज्ञ पाठक, समीक्षक तथा समालोचकबाट यथोचित प्रतिक्रियाको अपेक्षा रहेको जनाए।
कार्यक्रमममा गङ्गा खतिवडा, गङ्गाप्रसाद भेटवाल, माधव घिमिरे अटलद्वारा सूचक प्रकाशनका अध्यक्ष तथा स्रष्टा दीपक भेटुवाल दीपसागरलाई कृति सफलताको शुभकामना व्यक्त गर्दै अनुसन्धाता, समालोचक पाठकहरुका साथै बालसाहित्यका श्रवृद्धिका लागि यस्तो महत्वपूर्ण कृति कोशेढूंगा साबित हुने विश्वास व्यक्त गरिएको थियो ।
शब्दसरोवरका प्रवन्ध निर्देशक नवीन पल्लवद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा छ दर्जन जति साहित्यकारहरुको उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमकी सभापति तथा साहित्यकार हिरण्यकुमारी पाठकले सूचक प्रकाशनद्वारा आयोजित यस गौरवमय कार्यक्रमले नेपाली बालसाहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्दै यस्तो सार्थक साहित्यिक कर्मको साक्षी बन्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवादसहित सभा विसर्जन गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend