जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका खेलहरू सम्पन्न भएका छन्। समूह चरणका अधिकांश खेल कम रनमा सीमित भए पनि कठिन पिच र चुनौतीपूर्ण परिस्थितिमा नेपाली तथा विदेशी ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
विशेषगरी यसपटकको एनपीएलमा नेपाली ब्याटरहरूले विदेशी स्टार खेलाडीलाई कडा चुनौती दिएका छन्। समूह चरणको समाप्तिसम्म सर्वाधिक रन बनाउने शीर्ष १० ब्याटरको सूचीमा पाँच नेपाली र पाँच विदेशी खेलाडी पर्नुले घरेलु खेलाडीको प्रदर्शनलाई थप चर्चामा ल्याएको छ।
चार खेल मात्रै खेलेका पोखरा एभेन्जर्सका युवराज सामरा २९४ रनसहित सर्वाधिक रन बनाउने ब्याटरको पहिलो स्थानमा छन्। उनले ७३.५० को औसत र १७९.२६ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्। तर पोखरा प्रतियोगिताबाट बाहिरिएसँगै उनको एनपीएल यात्रा भने समाप्त भएको छ।
विराटनगर किंग्सका लोकेश बम २४२ रनसहित दोस्रो स्थानमा छन्। उनी समूह चरणमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरसमेत हुन्। सात खेलमा ३४.५७ को औसत र १४२.३५ को स्ट्राइक रेटमा रन बनाएका लोकेशको उच्च स्कोर ८७ रन रहेको छ। उनले दुई अर्धशतक प्रहार गर्नुका साथै प्रतियोगितामा सर्वाधिक १८ छक्का हानेका छन्। विराटनगर पनि प्रतियोगिताबाट बाहिरिसकेको छ।
पोखरा एभेन्जर्सकै कुशल भुर्तेल २३५ रनसहित तेस्रो स्थानमा छन्। सात खेलमा ३३.५७ को औसत र १४८.७३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले दुई अर्धशतक बनाएका छन्। पछिल्लो खेलमा कीर्तिमानी शतक बनाउन उनी एक रनले चुकेका थिए। भुर्तेलले समूह चरणमा १५ छक्का प्रहार गरेका छन्।
कर्णाली याक्सका राशिद खान १८६ रनसहित चौथो स्थानमा छन्। बलिङ अलराउन्डरका रूपमा परिचित राशिदले ब्याटिङमा समेत प्रभावशाली प्रदर्शन गरेका छन्। सात खेलमा ३७.२० को औसत र १४१.९८ को स्ट्राइक रेटमा रन बनाएका उनले दुई अर्धशतक प्रहार गरेका छन्। एनपीएलमा गरेको यही प्रदर्शनका आधारमा उनी एसीसी राइजिङ स्टार कपका लागि राष्ट्रिय टोलीमा समेत परेका छन्।
चितवन राइनोजका कप्तान रवि बोपारा १८४ रनसहित पाँचौँ स्थानमा छन्। पाँच खेल खेलेका उनले ४६ को औसतमा रन बनाएका छन्। उनको उच्च स्कोर ५५ रन रहेको छ। बोपाराले लगातार तेस्रो सिजन चितवनबाट एनपीएल खेलेका हुन्।
कर्णाली याक्सका अरिफुल इस्लाम १८२ रनसहित छैटौँ स्थानमा छन्। उनले सात खेलमा १८२ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। प्रत्येक खेलमा आक्रामक सुरुवात गरे पनि ठूलो स्कोर बनाउन भने उनी सफल हुन सकेनन्। उनको उच्च स्कोर ४४ रन रहेको छ।
कर्णालीकै अलराउन्डर पवन सर्राफ १६७ रनसहित सातौँ स्थानमा छन्। एनपीएलमा गरेको प्रदर्शनकै आधारमा उनी पनि एसीसी राइजिङ स्टार कपका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी १५० रनसहित आठौँ स्थानमा छन्। उनले समूह चरणमा दुई अर्धशतक प्रहार गरेका छन्। सुदूरपश्चिम प्लेअफमा प्रवेश गरिसकेकाले दीपेन्द्रसँग आफ्नो व्यक्तिगत प्रदर्शन थप सुधार गर्ने अवसरसमेत छ।
यस्तै, चितवन राइनोजका इंग्लिस ब्याटर डाविड मलान १४९ रनसहित नवौँ स्थानमा छन्। चार खेलमा ४९.६६ को औसतमा रन बनाएका उनको उच्च स्कोर ७० रन रहेको छ।
लुम्बिनी लायन्सका अस्ट्रेलियन ब्याटर डीआर्सी सर्ट १४८ रनसहित शीर्ष १० को सूचीमा दशौँ स्थानमा छन्। उनले ६ खेलमा २४.६६ को औसत र १४२.३० को स्ट्राइक रेटमा रन बनाएका छन्।
समूह चरणमा सर्वाधिक रन बनाउने शीर्ष १० ब्याटर
१.युभराज सामरा (पोखरा) – २९४ रन
२.लोकेश बम ९विराटनगर० – २४२ रन
३.कुशल भुर्तेल ९पोखरा० – २३५ रन
४.राशिद खान (काठमाडौं गोर्खाज) – १८६ रन
५.रवि बोपारा (चितवन) – १८४ रन
६.अरिफुल इस्लाम (कर्णाली) – १८२ रन
७.पवन सर्राफ (कर्णाली) – १६७ रन
८.दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम) – १५० रन
९.डाविड मलान (चितवन)– १४९ रन
१०.डीआर्सी सर्ट (लुम्बिनी) – १४८ रन
समग्रमा एनपीएलको समूह चरणले नेपाली ब्याटरहरू विदेशी खेलाडीभन्दा कम छैनन् भन्ने देखाएको छ। अब प्लेअफका खेलमा घरेलु ब्याटरहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने चासो थपिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend