जन आकाश
-जयराम बिडारी
कार्तिक २९, काठमाडौँ
नियात्रा समाज नेपालको आयोजनामा आज काठमाडौँमा आयोजित एक भव्य समारोहका बीच वरिष्ठ नियात्राकारद्वय घनश्यामराज कर्णिकार र नरेन्द्रराज पौडेललाई ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान गरिएको छ ।
समाजका अध्यक्ष मोहन चापागाईंको सभापतित्व तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दुवै स्रष्टालाई जनही नगद रु. ५० हजार १ रुपैयाँसहित कदरपत्रद्वारा सम्मान गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले यात्रा साहित्यलाई ‘नियात्रा’ नामकरण गर्ने श्रेय बालकृष्ण पोखरेललाई जाने स्पष्ट पार्दै २०२६ बाट नियात्रा भन्न थालिएको उल्लेख गरिए पनि नामकरणकर्ता पोखरेलको नाम नलिइँदा उहाँमाथि अन्याय भएको घिमिरेको धारणा थियो ।
सम्मानित स्रष्टाद्वयको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै नियात्राकार बिष्णुप्रसाद शर्माले ८६ वर्ष टेक्दै गर्नुभएका राजकर्णिकार सफल उद्यमीका साथै २० वटा कृति र ८ वटा नियात्रा सङ्ग्रहका कुशल सर्जक भएको बताउनुभयो । वि.सं. २०३५ मै नियात्रा प्रकाशन गर्नुभएका कर्णिकार ४२ वटा संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ । त्यस्तै, निबन्ध तथा हास्यव्यङ्ग्यकारका रूपमा समेत परिचित नरेन्द्रराज पौडेल विगत ५० वर्षदेखि निरन्तर साहित्यिक यात्रामा सक्रिय रहँदै ४९ वटा संस्थाबाट सम्मानित भइसक्नुभएको जानकारी शर्माले दिनुभयो ।
सम्मान ग्रहणपछि मन्तव्य राख्दै नियात्राकार कर्णिकारले वि.सं. २०२७ मा कलकत्ता यात्रा बारे आफ्नो पहिलो नियात्रा प्रकाशित भएको स्मरण गर्नुभयो । सोही क्रममा उहाँले तत्कालीन सरकारको छात्रवृत्तिमा आफ्ना पिताद्वारा सञ्चालित ‘कृष्ण पाउरोटी’ का तर्फबाट जर्मनीमा एकवर्षे बेकरी अध्ययनका लागि जाँदाका अनुभवसमेत सुनाउनुभयो ।
अर्का सम्मानित स्रष्टा पौडेलले नियात्रा वास्तवमा यात्रा संस्मरण नै भएको र यसमा आलोचनाभन्दा प्रशंसा बढी हुने धारणा राख्नुभयो । गरिबी र रोग दुवै लुकाउन नमिल्ने उल्लेख गर्दै स्वास्थ्यका कारण लामो समय उभिएर बोल्न कठिन हुने बताउनु भयो । उहाँले विगतमा आफू प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहँदा तराईमा प्रतिकूल अवस्थामा चुनाव गराउन खटिएको जस्ता रोचक प्रसङ्ग सुनाएर सहभागीलाई आल्हादित तुल्याउनु भयो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सिर्जना यात्राको आधा शताब्दी पूरा गरेका वास्तविक साधकहरूले सम्मान पाएकोमा खुसी व्यक्त गर्नुभयो । छनोट समितिका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विगतमा पूर्वी नेपालको एक पुरस्कार छनोटमा गलत पात्र छानिँदा व्यापक विरोध भएको प्रसङ्ग कोट्याउँदै यसपटकको पुरस्कार वितरण चयन समितिले सुयोग्य पात्रको चयन गरि पुरस्कृत गरिएकोमा सन्तोष व्यक्त गर्नु भयो । यस्तै, समाजका पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईले पठन संस्कृति ध्वस्त हुँदै गएको वर्तमान अवस्थामा पाठकको हातमा पुस्तक पुर्याउन पुस्तक प्रदर्शनीलाई महत्त्व दिनुपर्नेमा जोड दिनुभयो ।
पुरस्कारका सन्दर्भमा बोल्दै साहित्यकार पवन आलोकले आफ्नी धर्मपत्नी रेखा कँडेलले घरखर्चबाट जोगाएको रकमबाट आफ्नो नाममा यो पुरस्कार स्थापना गरेको जानकारी दिनुभयो । पहिले कृतिगत रूपमा दिइने यो सम्मान पछि समग्र योगदानका आधारमा दिन थालिएको र गत वर्ष निर्मोही व्यासलाई प्रदान गरिएको उहाँले बताउनुभयो ।
समाजका महासचिव भवानी खतिवडाद्वारा सहजीकरण गरिएको कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने पुरस्कार संस्थापक रेखा कँडेल, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, संस्थापक अध्यक्ष इल्या भट्टराई तथा पूर्व अध्यक्ष प्रतीक ढकालले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सभाध्यक्ष चापागाईंले हाल नियात्रा अत्यधिक रुचाइएको विधा भएको बताउँदै सशक्त नियात्राकारले शब्दमार्फत पाठकलाई दृश्य देखाउने भएकाले ऊ एक सफल ‘फिल्म मेकर’ सरह हुने विचार व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend