जन आकाश
काठमाडौं । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ।
सुरक्षा निगरानीका लागि ड्रोन र बडी क्यामेरा प्रयोग गरिएको छ भने सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।
शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थकहरू सक्रिय भएका छन्। प्रतिबन्धित अवस्थामा रहेको अवामी लिगका समर्थकले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ।
यसैबीच, बङ्गलादेशका कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत स्वदेश फर्कने बताएका छन्। मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनाले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा समाप्त भएपछि कानूनी विकल्प सीमित हुने मन्त्रीको भनाइ छ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो। उक्त फैसलाको पूर्ण पाठ भने सन् २०२६ जनवरी १३ मा सार्वजनिक गरिएको थियो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend