logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

कोष व्यवस्थापन कम्पनीले शेयरधनीलाई १०.५० प्रतिशत लाभांश दिने


  • जन आकाश
  • सोमबार, कार्तिक ३० २०८३

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १० दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको दशौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन अनुमोदन गर्दै उक्त प्रस्ताव पारित गरेको हो।



काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न सभाले कम्पनीको पूँजी वृद्धि योजनासहित अन्य प्रस्तावहरू पनि पारित गरेको छ। सभाको अध्यक्षता सञ्चालक समिति अध्यक्ष सुशील हुमागाईँले गरेका थिए।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ३४ करोड ८२ लाख रुपैयाँबाट बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ भने लगानी पोर्टफोलियोको उचित मूल्य करिब ३५ करोड १४ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

सभामा शेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, कार्यसम्पादन र आगामी योजनाबारे धारणा राखेका थिए। कम्पनीका प्रमुख संस्थापक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आगामी दिनमा थप लाभांश वितरण गर्न सक्ने गरी कम्पनीको कार्यसम्पादन सुधार गर्न शुभकामना व्यक्त गरेका थिए।

कृषि विकास बैंकद्वारा स्थापित कोष व्यवस्थापन कम्पनीले बैंक निक्षेप, ऋणपत्र, विभिन्न कम्पनीका शेयर तथा म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend