logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

भारत भ्रमणमा सीमा समस्या नेपालको पक्षमा उठाउन प्रधानमन्त्रीलाई एमाले महासचिव पोखरेलको आग्रह


  • जन आकाश
  • सोमबार, कार्तिक ३० २०८३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई आगामी भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्न आग्रह गरेका छन्।



नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको उल्लेख गर्दै पोखरेलले त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र विभिन्न राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताए।

प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विषयमा आफ्नो धारणा नसच्याएको पोखरेलको आरोप छ।

नेपाल र भारतबीचको सीमा समस्यासम्बन्धी विषय दुवै देशका दस्तावेजमा अभिलेखित रहेको उल्लेख गर्दै उनले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको बताए। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाएर नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्ने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री शाहको राजनीतिक कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक र संवादमुखी नभएको आरोप लगाउँदै उनले आफ्नै पार्टीसँग संवाद नगर्ने नेतृत्वबाट प्रतिपक्षसँग संवादको अपेक्षा गर्न कठिन हुने बताए।

प्रधानमन्त्रीको स्वेच्छाचारी तथा अधिनायकवादी कार्यशैली सच्याउनुपर्ने एमालेको आग्रह रहेको पोखरेलले स्पष्ट पारे।

उनले भने, ‘नेपाल–भारतबीचको सीमा समस्या दुवै देशका दस्तावेजमा अभिलेखित विषय भएकाले यसको समाधानमा सरकारले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्छ। प्रधानमन्त्रीले आगामी भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुहुनेछ भन्ने अपेक्षा छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend