logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने


  • जन आकाश
  • सोमबार, कार्तिक ३० २०८३

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुने भएका छन्।



सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भेलाको तयारी पूरा भएको जानकारी दिएका हुन्।

उनका अनुसार भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलामा संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी हुनेछन्।

भेलाको मुख्य उद्देश्य पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ वटा कामको कार्यान्वयनबारे छलफल गर्नु रहेको एमालेले जनाएको छ। साथै, पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा एकताबद्ध बनाउँदै आगामी स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे सम्बोधन गर्नेछन्। त्यस्तै, पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकारले प्रतिशोधात्मक ढंगले काम गरिरहेको आरोप लगाएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रतिशोध साधिएको दाबी गरे।

पार्टी पुनर्गठनको विषयलाई सचिवालयले अपनत्व लिएको उल्लेख गर्दै पोखरेलले आवश्यक समयमा त्यसलाई कार्यान्वयनमा लैजाने बताए। राष्ट्रिय भेलाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा थप एकताबद्ध बनाउने उनको भनाइ छ।

स्थानीय तहलाई एमालेले सधैँ महत्त्व दिँदै आएको उल्लेख गर्दै पोखरेलले स्थानीय सरकारलाई बलियो बनाउने सुरुवात पनि एमालेले नै गरेको दाबी गरे। राष्ट्रिय भेला स्थानीय तह निर्वाचनको तयारीसँग समेत जोडिएको उनको भनाइ छ। उनले यो भेला नयाँ निर्णय गर्नेभन्दा पनि यसअघि पार्टीले गरेका निर्णय कार्यान्वयनमा लैजाने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे।

यसैबीच, महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनको स्वभाव लोकतान्त्रिक नरहेको आरोप लगाए। आफ्नै पार्टीभित्र संवादको अवस्था नरहेको भन्दै उनले सरकारको समग्र कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend