जन आकाश
२५ घण्टाको भारत बसाइमा प्रधानमन्त्रीले के–के गर्नुहुने हो भन्ने विषयमा अझै पनि स्पष्टता देखिँदैन। सरप्राइज’का रूपमा ल्याइएको कुनै पनि सहयोग, ऋण वा सम्झौताका बारेमा तुरुन्तै धारणा बनाउनु वा निर्णय लिनु आवश्यक छैन। सरकारले त्यस्ता प्रस्तावहरूको चाहिँदो अध्ययन र मूल्याङ्कन गर्न आवश्यक परे जति पनि समय लिन सक्छ।
कूटनीति कसैलाई खुसी पार्ने अभ्यास होइन, राष्ट्रिय हितको रक्षा गर्ने गम्भीर जिम्मेवारी हो। आज हतारमा गरिएको एउटा निर्णयको मूल्य मुलुकले पुस्तौँसम्म चुकाउनुपर्ने अवस्था आउन सक्छ। त्यसैले अहिलेसम्म वार्तामा नल्याइएका संवेदनशील विषयहरू अहिले नै सम्बोधन गर्नुपर्ने कुनै बाध्यता छैन। राष्ट्रिय हित र भूराजनीतिक संवेदनशीलतामा असाधारण सावधानी अपनाइनुपर्छ।
नेपाल–भारत हवाई मार्गसम्बन्धी वार्ता अहिलेसम्म किन चेपुवामा परेको रहेछ, अब बुझिँदै छ। झुटो हो कि साँचो, भारतले बागडोग्राका लागि नेपाली आकाश प्रयोग गर्ने अनुमति का साथै रक्सौल नजिकको नेपाली हवाई क्षेत्रमा हवाई ट्राफिक नियन्त्रणको जिम्मेवारीसमेत मागेको समाचार प्रकाशित भएको छ। बागडोग्रा विमानस्थल भारतीय वायुसेनाको नियन्त्रणमा रहेको नागरिक तथा सैनिक दुवै प्रयोजनका लागि प्रयोग हुने विमानस्थल हो। बागडोग्राजस्तो सैनिक महत्त्व भएको विमानस्थललाई नेपाली आकाशको पहुँच दिँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष सैन्य उपयोगको सम्भावना, हवाई निगरानी र दीर्घकालीन सुरक्षा प्रभावको मूल्याङ्कन गर्नैपर्छ। भारतकै विमानस्थल प्राधिकरणले त्यहाँको एप्रोच र एरोड्रोम हवाई ट्राफिक नियन्त्रण भारतीय वायुसेनाबाट हुने पुष्टि गरेको छ। नेपालले आफ्नो भूमि र आकाश कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नीति अपनाउँदै आएको छ। अहिलेसम्म सार्वजनिक भएका विवरणबाट नेपालले व्यापक सैन्य तथा भूराजनीतिक जोखिम मूल्याङ्कन गरिसकेको छ भन्ने पुष्टि हुँदैन। रक्सौल नजिकको नेपाली हवाई क्षेत्र नेपालको प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशबिन्दु सिमरासँग सम्बन्धित भएकाले यसको प्राविधिक र रणनीतिक महत्त्व छुट्टै छ। यस्तो जिम्मेवारी हस्तान्तरणले सार्वभौमिकता स्वतः हस्तान्तरण गर्दैन, तर त्यसको कार्यक्षेत्र र अधिकारका आधारमा नेपालको सञ्चालनगत नियन्त्रणमा असर पर्न सक्छ। यसैले रक्सौलका अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश मागिएको हो कि सिमरा क्षेत्रको हवाई ट्राफिक नियन्त्रणसम्बन्धी अधिकार मागिएको हो? भन्ने विषय सरकारले स्पष्ट पार्न आवश्यक छ।
भैरहवाका लागि हवाई प्रवेशमार्ग प्राप्त गर्नु नेपालको महत्त्वपूर्ण आर्थिक आवश्यकता हो। तर त्यसको बदलामा भारतलाई बागडोग्रातर्फ नेपाली आकाशको पहुँच र रक्सौल नजिक हवाई ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिने प्रस्तावलाई एउटै दृष्टिकोणले हेर्न सकिँदैन।
बिपिन अधिकारी संविधान विद हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend