जन आकाश
काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। बैंकले यो सम्मान नवौँ पटक प्राप्त गरेको हो।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गर्नुभयो। उक्त सम्मान बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले ग्रहण गर्नुभयो।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई दाखिला गरेको बैंकले जनाएको छ।
सम्मान ग्रहणपछि अध्यक्ष चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँले कर्मचारीहरूको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासका कारण यो उपलब्धि हासिल भएको उल्लेख गर्दै जिम्मेवार बैंकिङ अभ्यास र मुलुकको आर्थिक विकासमा योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चार दशकभन्दा लामो बैंकिङ अनुभव रहेको नबिल बैंकले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले बैंकले एनबैंकसमेत सञ्चालनमा ल्याएको छ।
हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ। सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend