जन आकाश
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ। ऐन कार्यान्वयनको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु परीक्षण गरी छाप लगाउने काम सुरु गरिएको विभागले जनाएको छ।
विभागका अनुसार काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाका सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुका राँगाको मासु पसलमा पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा मासु परीक्षण गरिएको हो।
परीक्षणका क्रममा पशु वध गर्नुअघि गरिने एन्टीमार्टम र वधपछि गरिने पोस्टमार्टम जाँच गरी स्वस्थ मासुमा मात्र छाप लगाउने व्यवस्था गरिएको छ। यसका लागि विभागले विभिन्न स्थानमा पशु चिकित्सकलाई मासु निरीक्षकका रूपमा खटाएको छ।
जसअनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर तथा टेकुमा डा. उदयलाल खत्रीले निरीक्षणको जिम्मेवारी सम्हालेका छन्।
जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासु भेटिए तत्काल हटाएर स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको विभागले जनाएको छ। साथै, मासुमा प्रयोग गरिने छापको मसी फुड ग्रेड अर्थात् खाद्य प्रयोजनका लागि सुरक्षित भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर नपर्ने विभागले स्पष्ट पारेको छ।
स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोक्तासम्म पुर्याउने उद्देश्यले ऐन कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend