logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप


  • जन आकाश
  • मंगलबार, मंसिर १ २०८३

काठमाडौं । तिहार र छठ पर्वको लगातार सार्वजनिक बिदापछि काठमाडौंका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो।



लामो सार्वजनिक बिदाका कारण रोकिएका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन एकैपटक धेरै बिरामी अस्पताल पुग्दा अस्पताल परिसरमा चहलपहल बढेको छ। विशेषगरी बहिरङ्ग सेवा (ओपिडी) लिन आउने बिरामीको चाप बढी देखिएको छ।

बिरामीको चाप बढेसँगै टिकट काट्न, सेवा शुल्क भुक्तानी गर्न, चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउन तथा प्रयोगशालाको रिपोर्ट लिन सर्वसाधारणले घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था छ। सामान्य स्वास्थ्य सेवा लिनसमेत लामो समय कुर्नुपर्दा बिरामी र कुरुवाले सास्ती भोग्नुपरेको छ।

अस्पतालमा सेवाग्राहीको अत्यधिक चापसँगै व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहमा देखिएका समस्याले बिरामीलाई थप असहज बनाएको छ। टिकट वितरण, शुल्क भुक्तानी तथा रिपोर्ट उपलब्ध गराउने प्रक्रियालाई व्यवस्थित र सहज बनाउन नसक्दा उपचारका लागि आउने सर्वसाधारणले अनावश्यक समय खर्चिनुपर्ने अवस्था देखिएको छ।

सरकारी अस्पतालमा बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यक जनशक्ति व्यवस्थापन, सेवा प्रवाहमा सुधार तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend