logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

चैतभित्र स्थानीय तह निर्वाचन गर्ने आयोगको तयारी, चुनावी मैदानमा उत्रिँदै प्रमुख राजनीतिक दल


  • जन आकाश
  • मंगलबार, मंसिर १ २०८३

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतभित्रै देशभरका ७५३ स्थानीय तहको निर्वाचन गर्ने गरी आन्तरिक तयारी अघि बढाएको छ। निर्वाचनको मिति तय गर्ने प्रक्रियाअन्तर्गत आयोगले आगामी मंसिर ४ गते राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गरी सरकारलाई निर्वाचन मिति घोषणा गर्न सिफारिस गर्ने तयारी गरेको छ।



आयोगको सिफारिसपछि सरकारले औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गर्नेछ। स्रोतका अनुसार सरकारले चैतको पहिलो वा दोस्रो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी गरिरहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले पनि स्थानीय निर्वाचनका लागि आयोगले आवश्यक छलफल, समन्वय र तयारी अघि बढाइरहेको बताएका छन्।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिनुअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाका कारण आयोगले चैतभित्रै निर्वाचन गराउने तयारी गरेको हो।

निर्वाचनको औपचारिक मिति घोषणा हुन बाँकी रहे पनि प्रमुख राजनीतिक दलहरूले भने आन्तरिक रूपमा चुनावी तयारी तीव्र बनाइसकेका छन्। पछिल्लो चार–पाँच महिनादेखि नै दलहरू संगठन विस्तार, उम्मेदवार छनोट र जनतामाझ पुग्ने अभियानमा सक्रिय देखिएका छन्।

रास्वपाको उम्मेदवार छनोटमा क्यान्डिडेट क्लब

संसद्को पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत असारमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय निर्वाचनको तयारी थालेको छ। पार्टीले क्यान्डिडेट क्लबमार्फत प्रदेश, पालिका तथा नगरपालिकामा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट खुला रूपमा अनलाइन आवेदन मागिरहेको छ।

आवेदन दिएका व्यक्तिहरूमध्येबाटै उम्मेदवार छनोट गर्ने रास्वपाको तयारी छ। तर केही स्थानमा नेताहरूले प्रक्रियाबाहिर गएर उम्मेदवार बनाइदिने आश्वासन दिएको गुनासो पनि पार्टीभित्र उठ्न थालेको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यले पार्टी विधि, विधान र पद्धतिअनुसार सञ्चालन हुने भन्दै प्रक्रियाबाहिर गएर कसैले पनि स्वार्थ पूरा गर्न नसक्ने बताएका छन्। क्यान्डिडेट क्लबभन्दा बाहिर गएर टिकट बिक्री गर्ने वा पैसा, शक्ति र पहुँचका आधारमा उम्मेदवार छनोटमा प्रभाव पार्ने प्रमाण भेटिए साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने उनको चेतावनी छ।

पार्टी प्रवक्ता जगदीश खरेलले पनि क्यान्डिडेट क्लबमार्फत सम्पूर्ण प्रक्रिया पूरा गरी छनोट भएका व्यक्तिमात्र उम्मेदवार बन्न पाउने बताएका छन्। प्रक्रियाबाहिरबाट टिकट किनबेच भएको प्रमाण भेटिए उम्मेदवारी खारेज गरिने उनको भनाइ छ।

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि अघि बढाएको छ। कांग्रेसले स्थानीय निर्वाचनको पूर्वतयारी र पार्टी सुदृढीकरणका लागि मंगलबारदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने जनाएको छ।

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान वडा तहदेखि केन्द्रसम्म विस्तार गरिनेछ। अभियानमा कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालन गर्ने कांग्रेसको लक्ष्य छ।

कांग्रेस महामन्त्री डा. डिला संग्रौलाका अनुसार अभियानमार्फत पार्टीका नीति तथा कार्यक्रम तल्लो तहका कार्यकर्ता, स्थानीय समुदाय र आमजनतासम्म पुर्‍याइनेछ। महाधिवेशनबाट पारित नीति कार्यान्वयन गर्दै पार्टीलाई जनतासँग जोड्ने अभियानको उद्देश्य रहेको उनले बताएकी छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले उम्मेदवार छनोटमा समेत नयाँ रणनीति अपनाउने बताएको छ। विगतमा क्रियाशील सदस्यता र आन्तरिक गुटगत समीकरणका आधारमा टिकट वितरण हुने गरेको आरोपबीच यसपटक समाजमा राम्रो छवि भएका स्वतन्त्र तथा शुभेच्छुक व्यक्तिलाई समेत उम्मेदवार बनाउने तयारी कांग्रेसको छ।

एमालेको गाउँकेन्द्रित अभियान र राष्ट्रिय कार्यकर्ता भेला

नेकपा एमाले पनि स्थानीय तह निर्वाचनको तयारीमा जुटिसकेको छ। एमालेले गत असारदेखि पार्टी जागरण अभियान सञ्चालन गर्दै केन्द्रीय नेताहरूलाई स्थानीय तहसम्म परिचालन गरेको थियो।

अभियानअन्तर्गत केन्द्रीय पदाधिकारीबाहेकका केन्द्रीय सदस्यलाई विभिन्न पालिकाको जिम्मेवारी दिएर जनतामाझ पठाइएको थियो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार चुनावको औपचारिक घोषणा हुनुअघि नै वडा तहसम्म पुगेर जनतासँगको सम्बन्ध सुधार्ने र नयाँ मतदाता जोड्ने काम भइरहेको छ।

पछिल्लो राजनीतिक परिवर्तनपछि सहरी क्षेत्रमा परम्परागत मत कमजोर भएको निष्कर्षसहित एमालेले ग्रामीण तथा अर्धसहरी क्षेत्रको संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको आचार्यको भनाइ छ।

यसै रणनीतिअनुसार एमालेले मंसिर २ र ३ गते काठमाडौंमा देशभरका नेता तथा अगुवा कार्यकर्ताको राष्ट्रिय भेला आयोजना गर्दैछ। एमाले महासचिव शंकर पोखरेलका अनुसार भेलामा स्थानीय तह निर्वाचनको तयारी पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ।

प्रचण्डको दुईमहिने जागरण अभियान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि स्थानीय निर्वाचनलाई प्राथमिकतामा राखेर गतिविधि अघि बढाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन सम्पन्न नभएसम्मका लागि पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेका छन्।

महाधिवेशन स्थगित गर्दै प्रचण्डले गत कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेका छन्। अभियानमार्फत नेकपाले राष्ट्रियता, विदेशी हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका विषय उठाउँदै सरकारका कामकारबाहीमाथि प्रश्न गरिरहेको छ।

सरकारमाथि फरक मत दबाउने, नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने तथा निजी क्षेत्रमाथि त्रास सिर्जना गर्ने काम भइरहेको आरोप नेकपाले लगाउँदै आएको छ। स्थानीय निर्वाचनमार्फत संगठन विस्तार गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका बलियो बनाउने रणनीतिमा नेकपा देखिएको छ।

यसैबीच, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि विभिन्न गतिविधिमार्फत जनतामाझ आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।

दलहरूका लागि प्रतिष्ठाको चुनाव

समग्रमा आगामी स्थानीय तह निर्वाचन प्रमुख राजनीतिक दलहरूका लागि संगठनात्मक शक्ति परीक्षणको महत्त्वपूर्ण अवसर बन्ने देखिएको छ।

१५औँ महाधिवेशनपछि कांग्रेस सभापति गगन थापाको नेतृत्वका लागि स्थानीय निर्वाचन महत्त्वपूर्ण परीक्षण हुनेछ। नेकपा एमालेका लागि आफ्नो परम्परागत संगठनात्मक आधार जोगाउने चुनौती छ भने नेकपा संयोजक प्रचण्डका लागि राजनीतिक प्रभाव र सान्दर्भिकता कायम राख्ने अवसरका रूपमा निर्वाचनलाई हेरिएको छ।

त्यस्तै, जेनजी आन्दोलनपछि केन्द्रीय सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि स्थानीय तहमा संगठन विस्तार गर्दै आफ्नो राजनीतिक उपस्थिति स्थापित गर्ने चुनौती र अवसर दुवै रहनेछन्।

नयाँ तथा पुराना राजनीतिक दलहरू चुनावी तयारीमा जुटेसँगै आगामी स्थानीय तह निर्वाचनलाई राजनीतिक शक्ति, संगठनात्मक आधार र जनमत परीक्षणको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend