जन आकाश
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनलाई थप कडा बनाउने उद्देश्यले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ ल्याएको जनाएको छ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेश वा विदेशमा कसुरको आरोप लागेका व्यक्तिलाई कानुनी दायरामा ल्याउन र दण्ड सजायको दायरा फराकिलो बनाउन विधेयक ल्याइएको बताए।
उनका अनुसार उच्च जोखिममा रहेका तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने गरी विधेयकको मस्यौदा तयार पारिएको छ। मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिय विमानस्थल तथा सम्भावित स्थलमा निगरानीको व्यवस्था गर्ने प्रस्तावसमेत गरिएको छ।
सचिव राउतले जबर्जस्ती श्रममा लगाउने कार्यलाई कसुर कायम गर्ने तथा बालबालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्यलाई पनि ओसारपसारको कसुरका रूपमा परिभाषित गर्न प्रस्ताव गरिएको जानकारी दिए। विदेशी पीडित नागरिकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी फिर्ता पठाउने व्यवस्था पनि विधेयकमा समेटिएको उनको भनाइ छ।
उनले संगठित अपराध र वैदेशिक रोजगारसम्बन्धी ऐनसँग विरोधाभास नहुने गरी मानव बेचबिखन तथा ओसारपसारका विषयलाई समायोजन गर्दै संशोधन प्रस्तावलाई थप परिष्कृत गर्नुपर्ने बताए।
समिति सदस्यहरूले भने साइबर हिंसा, अपराध, बालबालिकामाथि हुने यौन हिंसा तथा श्रम शोषण रोकथामका लागि कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend