जन आकाश
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गर्दै चालु आर्थिक वर्षमा सरकारले निर्धारण गरेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिए। लक्ष्य महत्त्वाकांक्षी भए पनि नीतिगत सुधार र सुशासनमार्फत पूरा गरिने उनको भनाइ छ।
उनका अनुसार गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलनको हिस्सा अपेक्षाकृत कम रहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए।
कोभिड–१९ महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको भन्दै उनले त्यसले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने बताए। त्यसैले यस वर्ष करिब २७ प्रतिशत राजस्व वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ।
राजस्व संकलनको गति थप तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अर्थमन्त्री वाग्लेले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन सक्रिय रूपमा लाग्ने बताए। अहिले सरकार राजस्व संकलनको लक्ष्यबाट धेरै पछाडि नरहेको उल्लेख गर्दै उनले संकलन प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, निजी क्षेत्रका सुझाव, गुनासा र समस्या सुन्न सरकार तयार रहेको उनले बताए। तर करजस्ता महत्त्वपूर्ण विषयमा पटक–पटक नीतिगत परिवर्तन गर्दा निजी क्षेत्र प्रभावित हुने भएकाले नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्ने उनको धारणा छ।
अत्यावश्यक विषयमा नीतिगत सुधार गर्न सकिने भए पनि निजी क्षेत्रलाई लगानी र व्यवसाय सञ्चालनका लागि स्थिर वातावरण दिनुपर्ने उनले बताए।
बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलस्वरूप प्रतिकूल परिस्थितिका बीच पनि आर्थिक गतिविधि अघि बढिरहेको दाबी गर्दै अर्थमन्त्री वाग्लेले राजस्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उल्लेख गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend