जन आकाश
काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तेस्रो क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ भव्य रूपमा सम्पन्न भएको छ।
‘मौलिक कला, संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा लोकदोहोरी गायक राजु परियारसहित गीत–सङ्गीत, पत्रकारिता, कला तथा समाजसेवाका क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
समारोहमा वरिष्ठ लोक तथा दोहोरी गायिका बिमाकुमारी दुरा, वरिष्ठ पत्रकार शंकर रोक्कालगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।
त्यस्तै, गीत, सङ्गीत, गायन, अभिनय तथा म्युजिक भिडियो निर्माणका विभिन्न विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई अवार्ड प्रदान गरिएको थियो। ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ गीतबाट गीतकार तथा सञ्चारकर्मी डीबी पराजुलीले सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड प्राप्त गरे भने ‘कालीगङ्गा’ गीतबाट दीपक बीसी सर्वोत्कृष्ट साउण्ड रेकर्डिस्ट घोषित भए।
आयोजकका अनुसार अवार्ड छनोटमा ५० प्रतिशत जनमत र ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइएको थियो। गीतकार, सङ्गीतकार तथा म्युजिक भिडियो निर्देशक बिजेन्द्र नौवागेको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न कलाकारका साङ्गीतिक प्रस्तुतिसमेत रहेका थिए।
आयोजकले अवार्डले नेपाली मौलिक गीत–सङ्गीतको पहिचान स्थापित गर्न र स्रष्टा तथा कलाकारलाई सिर्जनात्मक यात्रामा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend