जन आकाश
जयराम बिडारी
काठमाडौँ ।
बाह्रखरी मिडियाद्वारा आयोजित आठौँ संस्करणको ‘डिगो बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८३’ मा कथाकार चेतनाथ आचार्यको कथा ‘भोटेकोशीको सुसाहट’ सर्वोत्कृष्ट ठहरिँदै प्रथम भएको छ । प्रथम पुरस्कारस्वरूप आचार्यले नगद २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सर्जक आचार्य समारोहमा उपस्थित हुन नसक्नुभएकाले उहाँकी धर्मपत्नीले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो ।
प्रतियोगितामा मधुर भट्टराईको कथा ‘सपनाको अर्को रङ्ग’ द्वितीय भई नगद १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै, सरस्वती सरसको कथा ‘अस्तित्वको अल्गोरिदम’ तृतीय भई नगद ६० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रथम, द्वितीय र तृतीयबाहेक उत्कृष्ट २५ भित्र पर्न सफल अन्य २२ जना कथाकारलाई सम्मानस्वरूप जनही नगद ७ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
शनिबार काठमाडौँमा आयोजित एक भव्य समारोहबीच प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले विजेता तथा उत्कृष्ट २५ कथाकारहरूलाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट २५ कथाहरूको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ को लोकार्पणसमेत गर्नुभयो ।
स्वदेश तथा भारतको दिल्ली, असम, दार्जिलिङ, मुम्बई, सिक्किम, डुवर्स, मेघालयका साथै चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया, इन्डोनेसियालगायत विदेशी मुलुकमा बसोबास गरिरहेका नेपाली कथाकारहरुबाट कुल १ हजार २२९ कथामध्यबाट पहिलो चरणमा ५० कथा छनौट गरेपश्चात्
उत्कृष्ट २५ कथा छनोट गरिएको थियो । पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख अर्यालले साहित्य र साहित्यकारप्रति राज्यको उच्च सम्मान रहेको बताउनुभयो । सङ्ग्रहमा समेटिएका कथाहरूले प्राकृतिक विपत्ति, देश र जनताका दुःख–पीडा तथा सामाजिक विसङ्गतिलाई जीवन्त रूपमा उतारेको उल्लेख गर्दै उहाँले ती २५ वटै उत्कृष्ट कथा अध्ययन गर्ने इच्छा रहेको बताउनुभयो ।
बाह्रखरीका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाह्य निर्णायक मण्डलकी संयोजक एवं अग्रज कथाकार भुवन ढुङ्गानाले ५० कथाबाट २५ उत्कृष्ट र त्यसबाट ३ सर्वोत्कृष्ट कथा निष्पक्ष ढङ्गले छनोट गरिएको जानकारी दिनुभयो । विश्वविद्यालयहरूले तथा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्न नसकेको साहित्यिक उन्नयनको काम बाह्रखरीले निरन्तर ८ वर्षदेखि गरिरहेको भन्दै उहाँले आयोजकको प्रशंसा गर्नुभयो ।
कथा छनोटका लागि बाह्रखरीले विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा आन्तरिक तथा ढुङ्गानाको संयोजकत्वमा समालोचक डा. ज्ञानु अधिकारी र लेखक एवं चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य रहेको बाह्य मूल्याङ्कन समिति गठन गरेको थियो ।
सो अवसरमा प्रतियोगिताको प्रमुख प्रायोजक डिश मिडिया नेटवर्क (डिगो एप) का प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेलले साहित्यविना भाषा, संस्कृति र समाज अधुरो रहने बताउँदै सङ्ग्रहमा समेटिएका २५ वटा कथाको पटकथा तयार पारी आगामी दिनमा चलचित्र निर्माण गर्ने प्रयास रहने घोषणासमेत गर्नुभयो ।
डिगो बाह्रखरी कथा प्रतियोगिताको आठौं संस्करण २०८३ को उत्कृष्ट २५ भित्र पर्न सफल कथा तथा कथाकारहरु वर्णानुक्रममानुसार अनिता कोइराला ‘नारीको हातमा प्रोस्टेट’ अपेक्षा कार्की ‘नुनको बाटो’ आशीष श्रेष्ठ ‘तलतिर’ कान्ति न्यौपानेको ‘प्रतीक्षा’ कुशल गौतमको ‘चाउमिन डाँडो’ रहेका छन् । भने गरिमा आचार्यको ‘जन्तर’ चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ जुन कथा प्रथम हुन सफल भयो । चेबन शर्माको ‘दुई घुम्ती’ दीपेन्द्र विष्टको ‘भोलि’ निर्मल ढुंगानाको ‘आदिम धड्कन’ प्रकाश राईको ‘पहिचान’ प्रवीण याम्फुको ‘तुक/बेतुक’ रहेका छन् । यसैगरी बद्री अधिकारीको ‘सानो घर’ मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ जुन कथा प्रतियोगितामा द्वितीय हुन सफल भयो । सोहीक्रममा ममता राईको ‘नायुमा’ मसान उपासकको ‘कोड नं. ३०२’ युवराज भट्टराईको ‘अँध्यारो/उज्यालो’ रजनी ढुंगानाको ‘पापी अनुहार’ शीर्षकीय कथा रहेका छन् । यसैगरी राकेशकुमार वर्णवालको ‘चिता’ राजेन्द्र तारकिणीको ‘किस्ताको भीर’ श्रेयज सुवेदीको ‘गोदना’ सपना अधिकारीको ‘पदयात्राका डोबहरू’ सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तृतीय हुन सफल भएको कथा, सुधन सुवेदीको ‘तीस वर्ष, दुई महिना’ र डा. सुरेन्द्र गैरेको सेतो समाधिको आह्वान रहेका छन् ।
‘सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथा’ को प्रस्तुतिमा विशेष सांगीतिक समूहबाट सारङ्गी वादनसमेत गरिएको उक्त समारोहमा बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, विशेष सम्पादक हरिबहादुर थापा, कार्यकारी सम्पादक बलराम पाण्डे र प्रमुख कार्यकारी अधिकृत सूर्य घिमिरेलगायतले अतिथिहरूलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन आयुक्त डा. राजीव अधिकारी, सूर्य नेपालका महाप्रबन्धक प्रेमनारायण अर्याल, एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे, नासा सेक्युरिटिजका अध्यक्ष मदन पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्सफरकी ब्रान्ड प्रवर्द्धन प्रमुख अनिता आचार्य, युनाइटेड अजोड इन्स्योरेन्सका सहायक प्रबन्धक डीआर दाहाल र आजाद श्रेष्ठ, यती एयरलाइन्सका सीईओ युवराज बिष्ट, वेदालय ग्रुपका अध्यक्ष जयराम अर्याल तथा सीईओ रोहित पौडेल, करुणा फाउन्डेसनका कार्यकारी निर्देशक दीपक सापकोटा तथा फाइनप्रिन्टका संस्थापक नीरज भारीलगायत साहित्यकार एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बाह्रखरीका विशेष संवाददाता राजेश खनालले सहजीकरण गर्नुभएको उक्त समारोहमा बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले अभ्यागतलाई स्वागत तथा प्रमुख कार्यकारी अधिकृत सूर्य घिमिरेको धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend