logo बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026
logo

बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026

खेमराज नेपालकृत ‘इलामको नालीबेली’ लोकार्पित


  • जन आकाश
  • बुधबार, मंसिर ९ २०८३

 



जयराम बिडारी

काठमाडौँ । समाज, संस्कार र शासन’ तथा ‘मिश्रित जातजाति : हामी नेपाली’ जस्ता चर्चित कृतिका स्रष्टा एवं पूर्वसचिव खेमराज नेपालको नयाँ खोजमूलक पुस्तक ‘इलामको नालीबेली’ काठमाडौँमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। इलाम नगरपालिकाको प्रायोजन र इलाम विकास समाजको आयोजनामा मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा उक्त कृति सार्वजनिक गरिएको हो।

इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाको सभापतित्व तथा वरिष्ठ शिक्षाविद् एवं पूर्वराजदूत केदारभक्त माथेमाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। समारोहमा प्रतिनिधिसभा सदस्य निश्कल राई, संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसचिवहरू दिनेश थपलिया, लीलामणि पौडेल डा. मदनकुमार भट्टराई, केदार न्यौपाने तथा पूर्वराजदूत विमल वाग्लेलगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको थियो।

प्रमुख अतिथि माथेमाले गमलामा पानी सिँचेर कार्यक्रमको शुभारम्भ गरेलगत्तै भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपश्चात् मञ्चासिन अतिथिहरूले संयुक्त रूपमा कृतिको घुम्टो उघारेका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि केदारभक्त माथेमाले आफू पहिलोपटक हेलिकप्टर चढेर इलाम पुगेको रोचक विगत सुनाए। नेपाली चियाको स्वाद विश्वमै अब्बल रहेको चर्चा गर्दै उनले जापानका लागि राजदूत रहँदा इलामे चियाको प्रवर्द्धनलाई कूटनीतिक कार्यक्रमकै मुख्य हिस्सा बनाएको स्मरण गरे। खोजमूलक लेखनमा अब्बल छवि बनाएका नेपालको यो कृति इलाम बुझ्ने एक महत्वपूर्ण दस्तावेज बनेको भन्दै उनले सफलताको शुभकामना दिए।

कार्यक्रमका सभाध्यक्ष एवं नगरप्रमुख केदार थापाले स्वागत मन्तव्यका क्रममा पुस्तकको ओज र आवश्यकतामाथि प्रकाश पारे। ‘इलामको नालीबेली’ ले इलामको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटोलाई उजागर गर्न कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्दै उनले यस्ता खोज-अनुसन्धानका कामले निरन्तरता पाउनुपर्नेमा जोड दिए। सोही अवसरमा आयोजकका तर्फबाट कृतिकार नेपाललाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित अप्रत्याशित रूपमा सम्मान समेत गरिएको थियो।

लोकार्पित कृतिमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्रा.डा. प्रेमसागर चापागाईंले यो पुस्तक भावी अध्येताहरूका लागि एक भरपर्दो स्रोतसामग्री बनेको बताए। चार खण्डमा समेटिएको कृतिले समग्र इलामको सूक्ष्म चिरफार गरेको उल्लेख गर्दै उनले पहिलो खण्डमा इलामको नामाकरण र प्राकृतिक सौन्दर्यलाई जनजिब्रोमा प्रचलित लोकोक्तिहरूसँग जोडेर रोचक ढङ्गले प्रस्तुत गरिएको बताए। त्यस्तै, दोस्रो खण्डमा शिल्पी जातिको इतिहास, सामाजिक बनोटसँगै महागुरु फाल्गुनन्द, ज्ञानदिलदास र योगीराज कमलनयनाचार्य जस्ता विभूतिहरूको जीवन्त चित्रण रहेको उनले औँल्याए। तेस्रो खण्डमा ग्रामीण तथा घरेलु शिल्पको प्रयोग र चौथो खण्डमा मौलिक इलामे लवजलाई सुरक्षित गरिएकाले यो पुस्तक नयाँ पुस्ताका लागि अमूल्य नासो हुने उनको धारणा थियो।

अर्का समीक्षक, वरिष्ठ पत्रकार एवं ‘बी.पी. र विद्रोहका ती दिन’ का लेखक धर्म गौतमले इलामलाई नजिकबाट चिन्न चाहने जोकोहीका लागि यो कृति गतिलो खुराक भएको बताए। माईपोखरी, सिंहदेवी, किरातेश्वर गुफा र कजेनी गुम्बा जस्ता धार्मिक, सांस्कृतिक तथा जनजीवनका विविध आयामलाई लेखकले सुन्दर मालामा उनेको भन्दै उनले कृतिको प्रशंसा गरे।

कार्यक्रममा कृतिकार खेमराज नेपालले पुस्तकको रचनागर्भ सुनाउँदै इलामबारे तथ्यपरक दस्तावेजको अभाव खड्किएकाले आफूले कलम चलाएको बताए। इलामको सुरम्य भूगोल, जनजीवन र जीवित इतिहासलाई लिपिबद्ध गर्न हौस्याउने नगरप्रमुख केदार थापा, विद्वत् वर्ग र नगरपालिकाको साथप्रति आभार व्यक्त गर्दै उनले पुस्तक पढेर खुलस्त प्रतिक्रिया दिन पाठकहरूसँग आग्रह गरे।

समारोहमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इलाममै हुनुपर्ने कार्यक्रम काठमाडौँ सर्दा इलाम पुग्ने आफ्नो धोको अधुरै रहेको रमाइलो प्रसङ्ग सुनाउँदै २०४५–२०४७ सालताका इलाम क्याम्पस प्रमुख हुँदाका मीठा अनुभव बाँडे। सोही क्रममा उनले विज्ञता र योग्यतालाई विकास र जनजीविकासँग जोड्न नसक्दा मुलुक पछि परेको तीतो यथार्थ पनि औँल्याए। प्रतिनिधिसभा सदस्य निश्कल राईले  जिल्लाको समग्र ऐनाका रूपमा आएको यो कृति पाठकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष तथा अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीको रसपूर्ण र कुशल सहजीकरणमा सम्पन्न उक्त समारोहमा इलामेली समाज, पूर्वप्रशासक, साहित्यकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend