logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एनएमबि बैंकले बायोमास पेलेट परियोजनामा लगानी गदै


  • जन आकाश
  • मंगलबार, कार्तिक ४ २०७७

काठमाडौंं ।  परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको बायोमासलाई पेलेटका रूपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाका लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने गरी एनएमबि बैंकले बायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएको छ । बैंकले वन तथा वातावरण क्षेत्रका व्यावसायिक व्यक्तिहरूद्वारा पर्वद्धन गरिएको बकस रिन्युएबल इनर्जी प्रालिसँग कर्जा लगानीको सम्झौता गरेको हो ।



बैंकले प्रदान गर्ने कर्जा रकमलाई कम्पनीले बायोमास पेलेट मेसिन खरिद गर्ने कार्यमा र चालू पुँजीमा उपयोग गर्ने जनाइएको छ । बकस रिन्युएबल इनर्जीलाई इन्टरनेसनल फाइनान्स कर्पोरेसनद्वारा पर्वद्धित नेपालको अन्तर्राष्ट्रिय निजी इक्विटी फन्ड बिजनेस अक्सिजन प्राइभेट लिमिटेडले पनि परियोजना विकासका लागि इक्विटीका रूपमा ५ करोड रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ । त्यस्तै, बकस रिन्युएबल इनर्जीका प्रमोटरले ५ करोड रुपैयाँ लगानी गरेको जनाइएको छ ।

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको बायोमासलाई पेलेटका रूपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाका लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने जनाइएको छ । बायोमास पेलेट एक नवीकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जाजस्तै पेट्रोलियम पदार्थ, एलपिजी र कोइलाको विकल्प प्रदान गर्ने कम्पनीको दाबी छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्थापना हुने यस आयोजनाले प्रतिवर्ष १९ हजार ८ सय २४ मेट्रिकटन पेलेट उत्पादन गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनाबाट प्राप्त गरिनेछ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरू यस उद्योगका लागि कच्चा पदार्थ हुने जनाइएको छ ।

वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनामा रहेका वनमारा तथा झाडीजस्ता बायोमास बकस रिन्युएबललाई नियमानुसार २० वर्षका लागि उपलब्ध गराउने सम्झौता गरिसकेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend