जन आकाश
काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सम्झौता भएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलबार सम्झौता भएको हो । दश वर्षे सम्झौतापत्र आदान–प्रदान गर्दै सदस्यसचिव सिलवालले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्छ ।’ बैंकहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुने सदस्यसचिव सिलवालले बताए । उनले भने, ‘लगानी गरे परिणाम आउँछ, नेपाली खेलकुद रिजल्ट दिन सक्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरव बढाउँछौँ, लगानीमा हामीलाई साथ दिनुहोस् ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताएका छन् । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुऱ्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।
‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुनेछ,’ उनले भने, ‘केन्द्रमा मात्र होइन, जिल्ला, प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिकासम्म सहकार्य गर्न सकिन्छ ।’
दश वर्षका लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई विनाधितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराउनेछ । परिषद्ले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।
खेलकुदको विकास र विस्तारका लागि केन्द्रदेखि पालिकासम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर परिषद्लाई भौतिक सामग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाइ बैंकले गरिदिन सक्नेछ । बैंकले छपाइ गरेको टिकटमा संस्थाको व्यावसायिक सन्देश राखिनेछ । बैंकिङ कारोबारका लागि बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्नेछ । सम्झौता १४ पुस २०७७ कै मितिदेखि १० वर्षका लागि लागू हुनेछ भनि उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend